कर्णाली ।
कर्णाली प्रदेशले गत आर्थिक वर्षमा विभिन्न प्रजातिका जडीबुटी निकासीबाट ४ करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरेको छ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार उक्त अवधिमा ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासीबाट सो रकम प्राप्त भएको हो।
मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार सबैभन्दा बढी राजस्व झ्याउ निकासीबाट संकलन भएको छ। प्रतिकेजी ५० रुपैयाँ राजस्व दर रहेको झ्याउ एक लाख ८१ हजार ६०९ केजी निकासी हुँदा ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व उठेको छ।
त्यस्तै, प्रतिकेजी ७५ रुपैयाँ राजस्व दर रहेको जटामसी ९६ हजार ७९२ केजी बिक्री हुँदा ८७ लाख ८८ हजार ८७५ रुपैयाँ संकलन भएको छ। यार्सागुम्बाबाट पनि ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व प्राप्त भएको छ। प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व दर रहेको यार्सागुम्बा भने २५१ केजी ६५६ ग्राम मात्र बिक्री भएको मन्त्रालयले जनाएको छ।
यसैगरी, प्रतिकेजी ४० रुपैयाँ राजस्व दर निर्धारण गरिएको कटुसी ३४ हजार ४४५ केजी बिक्री हुँदा २३ लाख ८१ हजार ६८० रुपैयाँ संकलन भएको छ। प्रतिकेजी २५ रुपैयाँ राजस्व लाग्ने सेतक चिनी ४१ हजार ७३२ केजी निकासीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ राजस्व उठेको छ।
मन्त्रालयका अनुसार टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ, सिलाजितबाट ९ लाख ७७ हजार ८५० रुपैयाँ, सुगन्धवालबाट ९ लाख ५० हजार ५८० रुपैयाँ र रिठ्ठाबाट ९ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व संकलन भएको छ।
यीमध्ये टिमुरमा प्रतिकेजी १० रुपैयाँ, सिलाजितमा ५० रुपैयाँ, सुगन्धवालमा २५ रुपैयाँ र रिठ्ठामा ३ रुपैयाँ राजस्व दर कायम गरिएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा कुल २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी जडीबुटी संकलन भएको थियो। त्यसमध्ये १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जडीबुटी कर्णाली प्रदेशबाट निकासी गरिएको हो।
प्राकृतिक स्रोत र जैविक विविधताले समृद्ध कर्णालीमा जडीबुटीको व्यावसायिक संकलन तथा निकासी प्रदेशको राजस्व आम्दानीको महत्वपूर्ण आधारका रूपमा देखिएको छ।