काठमाडौं ।
पछिल्लो २४ घण्टामा मनाङमा धेरै भारी वर्षा भएको छ । मौसम विज्ञान विभागको आज बिहान ६ः२४ बजेसम्मको विवरणअनुसार मनाङस्थित ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
विभागले २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी र २०० मिलिमिटरभन्दा कम वर्षा हुनुलाई धेरै भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ । २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मानिन्छ ।
बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । हाल अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी प्रदेशका केही स्थान तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा मापन भएको छ ।
शुक्रबार राति १० बजेसम्मको विवरणअनुसार तीन घण्टाको अवधिमा मुगुको ताल्चा मौसम मापन केन्द्रमा सबैभन्दा बढी ७६.९ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै, राति ११ः१० बजेसम्मको एक घण्टे विवरणमा सुर्खेतको रानीमत्ता केन्द्रमा ११.२ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।
महाशाखाले आज अपराह्नपछि भने वर्षा गराउने प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान गरेको छ ।