स्थानीयवासीको श्रमदानपछि पाउद्वार–खोप्रा पदमार्ग पुनः सञ्चालनमा
स्थानीयवासीको श्रमदानपछि पाउद्वार–खोप्रा पदमार्ग पुनः सञ्चालनमा
    • बेल संचार

    • १७ कार्तिक २०८३, सोमबार

म्याग्दी ।

गत असोजमा परेको अविरल वर्षापछि पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारदेखि खोप्रा जोड्ने पदमार्ग पुनः सञ्चालनमा आएको छ।

पाउद्वारका स्थानीयवासीले सामूहिक श्रमदानमार्फत पाउद्वार–खोप्रा–खयर पदमार्गअन्तर्गत पाउद्वार–हिलडाँडा–लरेनी खण्डको मर्मत गरेपछि आवतजावत सहज बनेको हो।

पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनका अनुसार स्थानीयले पहिरो हटाउनुका साथै नयाँ बाटो निर्माण गरेर पदमार्ग सञ्चालनमा ल्याएका हुन्। करिब दुई सय घरपरिवार रहेको पाउद्वारमा पहिरोले क्षति पुर्‍याएको पदमार्ग, विद्युत् र खानेपानी संरचना मर्मत गर्न एक महिनादेखि श्रमदान अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए।

स्थानीय प्रभा तिलिजा पुनका अनुसार दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेपछि पदमार्ग खुलाउन सम्भव भएको हो। पदमार्ग सञ्चालनमा आएपछि पर्यटकसँगै स्थानीयवासीलाई घाँसदाउरा गर्न र गोठसम्म पुग्न सहज भएको उनले बताइन्।

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने समुद्री सतहदेखि तीन हजार ५६० मिटर उचाइमा रहेको खोप्रा पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। बस्तीभन्दा टाढा रहेको शान्त र एकान्त वातावरण, सूर्योदय, हिमशृङ्खला, पहाडी दृश्य तथा पशुगोठ यहाँका आकर्षण हुन्।

अर्नब चक्रवातका कारण पछिल्ला एक–दुई दिन पर्यटक आगमन प्रभावित भए पनि अहिले खोप्रामा पर्यटकको चहलपहल पुरानै अवस्थामा फर्किन थालेको खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनले बताए। खोप्रामा पाउद्वार पर्यटन सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गर्दै आएको छ।

घोडेपानी, कास्कीको घान्द्रुक, बयली, ढाडखर्क र नारच्याङको लेकगाउँ हुँदै पर्यटक खोप्रा लेक पुग्ने गर्छन्। त्यहाँबाट समुद्री सतहदेखि चार हजार ६०० मिटर उचाइमा रहेको खयरतालको भ्रमण गरी लरेनी र पाउद्वार हुँदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर पुग्न सकिन्छ।

पहिरोका कारण सडक तथा गाउँ आसपासका केही क्षेत्र प्रभावित भए पनि खोप्रालगायतका पर्यटकीय गन्तव्य सुरक्षित रहेको हिलडाँडाका होटल व्यवसायी जसे पुनले बताए। उनका अनुसार पर्यटकले सहज रूपमा भ्रमण गर्न सक्ने अवस्था छ। असोज–कात्तिक र चैत–वैशाखलाई खोप्रा–खयर पदमार्गको मुख्य पर्यटकीय मौसम मानिन्छ।

साताकाे चर्चित
सम्बन्धित