काठमाडौं ।
इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि राजनीतिक अन्योल कायमै रहेका बेला इरानसँगको सैन्य तनाव फेरि बढ्न सक्ने आशंका व्यक्त गरिएको छ। इजरायली विपक्षी गठबन्धन ‘द डेमोक्र्याट्स’का नेता याइर गोलानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न इरानसँग नयाँ सैन्य मुठभेडको बाटो रोज्न सक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गोलानले इरानसँग अर्को चरणको युद्ध वा सैन्य टकरावको सम्भावना तीव्र बन्दै गएको बताएका हुन्।
अमेरिकामा आगामी मङ्गलबार हुने मध्यावधि निर्वाचनपछि वासिङ्टन र तेल अभिभले इरानमाथि ठूलो सैन्य कारबाही गर्न सक्ने विषयमा इजरायली तथा अमेरिकी सञ्चारमाध्यममा समाचार सार्वजनिक भइरहेका बेला गोलानको यस्तो प्रतिक्रिया आएको हो।
इजरायलका पूर्वउपसेनाप्रमुखसमेत रहेका गोलानले इरानसँग पटक–पटक युद्धको अवस्था सिर्जना हुनु नेतान्याहुको नेतृत्व असफल भएको प्रमाण भएको टिप्पणी गरेका छन्।
उनका अनुसार इरानविरुद्ध निरन्तर सैन्य संघर्षमा जानुपर्ने अवस्थाले सरकारको रणनीतिक कमजोरी देखाउँछ। नेतान्याहुसँग अर्को युद्ध अघि बढाउने नैतिक वैधता र त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने आधारभूत क्षमता दुवै नरहेको उनको दाबी छ।
गोलानले प्रधानमन्त्री नेतान्याहु, रक्षामन्त्री इजरायल कात्ज र राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन–गभिरको नेतृत्वमा देशको सुरक्षा जिम्मेवारी रहिरहनु इजरायलका लागि जोखिमपूर्ण भएको बताएका छन्। उनले वर्तमान सुरक्षा नेतृत्व परिवर्तन गर्नुपर्ने मागसमेत गरेका छन्।
गोलानका यी अभिव्यक्ति इजरायलभित्रको राजनीतिक विवाद र इरानसँगको तनावपूर्ण सम्बन्धका बीच आएका हुन्।