काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ। टस जितेको काठमान्डुका कप्तान करण केसीले कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन्।
आजको खेलमा अस्ट्रेलियाका चर्चित खेलाडी डेभिड वार्नर काठमान्डुको पहिलो रोजाइमा परेका छन्। उनले साम हिजलेटको स्थान लिएका छन्।
काठमान्डुले टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ। साम हिजलेट, सुमित महर्जन र हरिशंकर शाहको स्थानमा वार्नर, सन्तोष यादव र देव शाहलाई मैदानमा उतारिएको छ।
यता, कर्णाली याक्सले भने टोलीमा एक परिवर्तन गरेको छ। बंगलादेशका अकबर अलीको स्थानमा सोही देशका जिशान अलामलाई पहिलो रोजाइमा समावेश गरिएको छ।
प्रतियोगितामा कर्णालीले यसअघि खेलेका दुवै खेल जित्दै चार अंक जोडिसकेको छ। आजको खेल जितेर लगातार तेस्रो सफलता हात पार्ने लक्ष्यमा कर्णाली रहेको छ।
पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डु भने आजको खेलमार्फत प्रतियोगितामा पहिलो जित दर्ता गर्ने प्रयासमा छ।