सेयर बजारमा ३२.६५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
सेयर बजारमा ३२.६५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
    • बेल संचार

    • १७ कार्तिक २०८३, सोमबार

काठमाडौं ।

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य गिरावट आएको छ। दिनभरजसो ओरालो लागेको बजार परिसूचक नेप्से ३२.६५ अंकले घटेर २ हजार ६५७ अंकमा झरेको हो।

यसअघि पछिल्लो कारोबार दिन नेप्सेमा ५ अंकको मात्रै गिरावट आएको थियो।

नेप्सेसँगै सेयर कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार घटेर ७ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।

सोमबार कारोबार भएका कम्पनीमध्ये २१ वटाको सेयर मूल्य बढेको छ भने २५२ वटाको घटेको छ। ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन। बजारका सबै समूहगत सूचक ओरालो लागेका छन्। विकास बैंक समूहमा सबैभन्दा धेरै १.८८ प्रतिशतको गिरावट देखिएको छ।

बैंकिङ समूह १.०७, फाइनान्स १.५३, होटल तथा पर्यटन ०.६३, जलविद्युत् १.०८, लगानी १.४२, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स १.१६, निर्जीवन बीमा १.७२, अन्य १.६१ र व्यापार समूह ०.८६ प्रतिशतले घटेका छन्।

समग्र बजार घटे पनि बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। मकर जितुमाया सुरी हाइड्रोपावरको ८.७७, मन्दाकिनी हाइड्रोपावरको ५.४७, एनआईसी एसिया बैंकको ३.०२ र बुटवल पावर कम्पनीको २.४८ प्रतिशतले मूल्य वृद्धि भएको छ।

यता झापा इनर्जीको सेयर मूल्य ४.११ प्रतिशतले घटेको छ। सांग्रिला डेभलपमेन्ट बैंकको ४.०८, एनएलजी इन्स्योरेन्सको ३.८३ र माउन्ट एभरेस्ट पावरको ३.५६ प्रतिशतले मूल्य घटेको छ।

सोमबार बढी कारोबार हुने कम्पनीमा घलेम्दी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, ग्रिन भेन्चर्स, एनआईसी एसिया बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित