रूपन्देही ।
स्वस्थ जीवनशैलीप्रति बढ्दो चासोसँगै रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ। शारीरिक र मानसिक स्वास्थ्यबारे सचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा जिल्लाका विभिन्न क्षेत्रबाट दुई हजारभन्दा बढी व्यक्ति सहभागी भएका छन्।
गङ्गा कार्कीले करिब दुई वर्षअघि सुरु गरेको यो अभियान अहिले रुपन्देहीका दर्जनभन्दा बढी स्थानमा पुगिसकेको छ। बुटवल, भैरहवा, रोहिणीपुर, सालझण्डी, देवदह र लुम्बिनीलगायत क्षेत्रमा नियमित रूपमा योग तथा ध्यानका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
व्यस्त दैनिकी, असन्तुलित खानपान, शारीरिक निष्क्रियता र तनावपूर्ण जीवनशैलीका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याबारे सचेत गराउँदै नियमित योग अभ्यासको बानी विकास गर्न अभियान थालिएको कार्कीले बताए।
अभियानमा महिला, पुरुष, युवा र ज्येष्ठ नागरिकको सहभागिता छ। नियमित अभ्यासले शरीर सक्रिय राख्न, मानसिक शान्ति कायम गर्न र सकारात्मक सोच विकास गर्न सहयोग पुगेको सहभागीहरूको अनुभव छ।
ओमसतिया गाउँपालिका–४ की ज्योति जिसीले योग अभ्यास सुरु गरेपछि आफ्नो दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन महसुस गरेको बताइन्। पहिले शरीर दुख्ने र थकान हुने समस्या रहेकोमा नियमित अभ्यासपछि शरीर हलुका र सहज महसुस हुन थालेको उनको भनाइ छ। चिकित्सकको सल्लाहअनुसार सुगर तथा थाइराइडसम्बन्धी औषधिको मात्रा घटेको अनुभवसमेत उनले सुनाइन्।
विपश्यना गुरु गङ्गाप्रसाद कोइरालाले योग र ध्यानले शारीरिक स्वास्थ्यसँगै मानसिक अवस्थामा पनि सकारात्मक प्रभाव पार्ने बताए। उनका अनुसार नियमित साधनाले आत्मअनुशासन, धैर्य र संयम विकास गर्नुका साथै तनाव व्यवस्थापनमा सहयोग पुर्याउन सक्छ।
भैरहवास्थित नथुमल गिनिया देवी ट्रस्टको भवनमा पनि निःशुल्क विपश्यना साधना सञ्चालन हुँदै आएको स्थानीय सन्तोष रायमाझीले जानकारी दिए। उनका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालित योग तथा ध्यान कार्यक्रममा हालसम्म दुई हजारभन्दा बढी व्यक्ति जोडिएका छन्।
अभियानमा सहभागीहरू व्यक्तिगत स्वास्थ्य अभ्यासमा मात्र सीमित नरही विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय हुन थालेका छन्। सामूहिक रूपमा सञ्चालन हुने कार्यक्रमले समुदायबीच आपसी सद्भाव, सहयोग र एकताको भावना बढाउन पनि योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।
अभियानमा संलग्न व्यक्तिहरूले स्वस्थ समाज निर्माणका लागि नियमित शारीरिक अभ्यास, सन्तुलित खानपान र मानसिक स्वास्थ्यप्रतिको सचेतना आवश्यक रहेको बताएका छन्। स्थानीय तह, सामाजिक सङ्घसंस्था र समुदायको सहकार्यमा यस्ता निःशुल्क कार्यक्रमलाई निरन्तरता दिन सके सबै उमेर समूहका नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न सकिने उनीहरूको विश्वास छ।