चितवनमा वर्षाले सयपत्री फूलखेतीमा क्षति, फक्रिएका आधाभन्दा बढी फूल नष्ट
चितवनमा वर्षाले सयपत्री फूलखेतीमा क्षति, फक्रिएका आधाभन्दा बढी फूल नष्ट
    • बेल संचार

    • १८ कार्तिक २०८३, मंगलवार

चितवन ।

कात्तिक ११ देखि १४ गतेसम्म भएको वर्षाका कारण चितवनमा व्यावसायिक रूपमा गरिएको सयपत्री फूलखेतीमा ठूलो क्षति पुगेको छ। बजारमा बिक्रीका लागि तयार भएका फक्रिएका फूल पानीले बिगारेपछि किसान प्रभावित भएका छन्।

भरतपुर महानगरपालिका–२६ का किसान दीपक पाख्रिनले आफूले लगाएको फूलखेतीमा फक्रिसकेका करिब ७० प्रतिशत फूल नष्ट भएको बताएका छन्। दुई बिघा क्षेत्रफलमा सयपत्री खेती गरेका उनले वर्षाका कारण फूलका हाँगा भाँचिने र टिपेर पठाउँदा चिसोका कारण फूल कालो हुने समस्या देखिएको बताए।

पाख्रिनका अनुसार एक बिघामा फूलखेती गर्न एक लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च लाग्छ। दसैँपछि फूल टिपेर माला बनाई भण्डारण गर्ने तयारी भए पनि वर्षाले योजना प्रभावित भएको उनले बताए। बजारमा माग नहुँदा फूल बिक्रीका लागि पठाउन ढिलाइ भएको र त्यही समयमा वर्षा हुँदा थप क्षति भएको उनको भनाइ छ।

जिल्ला कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार तीन दिनसम्म परेको वर्षाले फक्रिएर बजारमा लैजान तयार भएका फूलमा बढी असर गरेको हो। जिल्लामा लगाइएको फूलमध्ये ६० देखि ७० प्रतिशत फक्रिएको र तीमध्ये आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिइन्। कोपिला लागेका फूलमा भने उल्लेख्य क्षति नभएको उनको भनाइ छ।

चौहानका अनुसार यस वर्ष चितवनमा ४४ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ। प्रतिहेक्टर करिब एक हजार किलो फूल उत्पादन हुने अनुमान गरिएको थियो। अपेक्षित उत्पादन भएको भए जिल्लाको माग धान्नुका साथै छिमेकी जिल्लामा समेत फूल आपूर्ति गर्न सकिने अवस्था रहेको उनले बताइन्।

फक्रिएका फूलमा क्षति पुगेपछि बजारमा फूलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष सयपत्री खेतीको क्षेत्रफल पनि उल्लेख्य रूपमा विस्तार भएको छ। गत वर्ष २१ दशमलव ९२ हेक्टरमा खेती गरिएकोमा यस वर्ष ४४ हेक्टरमा विस्तार भएको हो।

यस वर्ष किसानले टिनिस १, थाई टिनिस, टिनिस २, सुमति र कर्मा ५५५ जातका सयपत्री लगाएका छन्। गत वर्ष चितवनमा १३१ दशमलव ४ मेट्रिक टन सयपत्री उत्पादन भएको थियो। जिल्लाका सातवटै स्थानीय तहमा चाडपर्वलाई लक्षित गरी व्यावसायिक फूलखेती हुँदै आएको छ। तीमध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा बढी खेती गरिएको चौहानले बताइन्।

थोरै जमिनबाट पनि राम्रो उत्पादन लिन सकिने र गत वर्ष फूलको मूल्य राम्रो पाएको अनुभवका कारण किसान सयपत्री खेतीतर्फ आकर्षित हुँदै आएका छन्। बजारमा नेपाली फूलको माग बढ्दै गए पनि यस वर्षको वर्षाले किसानको उत्पादन र आम्दानीमा असर पुर्‍याएको छ।

साताकाे चर्चित
सम्बन्धित