इमरान शेखको आक्रामक इनिङ, जनकपुरविरुद्ध विराटनगर बलियो
इमरान शेखको आक्रामक इनिङ, जनकपुरविरुद्ध विराटनगर बलियो
    • बेल संचार

    • १८ कार्तिक २०८३, मंगलवार

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सका इमरान शेखले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरिरहेको विराटनगरका लागि तेस्रो नम्बरमा क्रिजमा आएका इमरानले ४० बलको सामना गर्दै ५३ रन जोडे। उनको इनिङमा ५ चौका र २ छक्का समावेश रहे।

यससँगै जारी प्रतियोगितामा अर्धशतकको संख्या आठ पुगेको छ। इमरान भने यस संस्करणमा अर्धशतक बनाउने छैटौं नेपाली खेलाडी बनेका छन्।

विराटनगरले इनिङको सुरुवातमै ओपनर शान जयासूर्यालाई २ रनको अवस्थामा गुमाएको थियो। त्यसपछि ब्याटिङमा आएका इमरानले ओपनर लोकेश बमसँग मिलेर टोलीको इनिङ सम्हाले। यी दुईबीच शतकीय साझेदारीसमेत भएको छ।

जारी संस्करणमा बनेको यो पहिलो शतकीय साझेदारी हो। समग्र एनपीएल इतिहासमा भने यो १४औं शतकीय साझेदारीका रूपमा दर्ता भएको छ। प्रतियोगिताको पहिलो संस्करणमा सात र दोस्रो संस्करणमा छ पटक यस्तो साझेदारी बनेको थियो।

विराटनगरका लागि एनपीएलमा यो दोस्रो शतकीय साझेदारी हो। यसअघि दोस्रो संस्करणमा लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी विराटनगरको एनपीएल इतिहासकै सर्वाधिक साझेदारीसमेत हो।

तर, समग्र एनपीएल इतिहासमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान पोखरा एभेन्जर्सका आन्द्रे गौस र दिनेश खरेलको नाममा छ। उनीहरूले लुम्बिनीविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित