१७ कात्तिक, काठमाडौं ।
समाचार कक्षभित्रै प्रवेश गरी प्रहरीले गरेको सोधपुछबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त गतिविधि प्रहरीको आन्तरिक सूचना चुहावटसम्बन्धी विषयमा अनुसन्धान गर्न गरिएको दाबी गरेका छन्।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रहरीका आन्तरिक सूचना बाहिरिएको विषयमा प्रकाशित समाचारको स्रोत र तथ्यबारे बुझ्न प्रहरीले सोधपुछ गरेको बताएका हुन्।
उनका अनुसार प्रधानमन्त्रीले प्रहरी महानिरीक्षकको राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने आशयका भ्रामक सूचना कसरी सार्वजनिक भए भन्ने विषयमा प्रहरीले छानबिन गर्न खोजेको हो। यसका लागि प्रहरीले गरेको सोधपुछलाई उनले प्रहरीको आन्तरिक प्रक्रियाका रूपमा व्याख्या गरे।
प्रवक्ता पोखरेलले समाचार कक्षमा प्रहरी प्रवेश गर्ने कार्य सरकार वा प्रधानमन्त्रीको पूर्ण अनुमतिमा नभएको पनि स्पष्ट पारे। उनका अनुसार प्रहरीको आन्तरिक सूचना चुहावट भएको भन्दै प्रहरीले आफ्नै तहबाट सोधपुछ गरेको थियो।
प्रधानमन्त्रीलाई घटनाबारे जानकारी हुनासाथ पत्रकारलाई सोधपुछका लागि हिरासतमा नराख्न निर्देशन दिएको उनले बताए। पोखरेलले प्रहरीले कसैलाई पक्राउ वा नियन्त्रणमा नलिएको दाबीसमेत गरे।