काठमाडौं, १८ कात्तिक ।
जाडो मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले नगरवासीलाई सचेत रहन आग्रह गरेको छ। महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि रोक्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।
महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो, उद्योग–कलकारखानाको उत्सर्जन र प्लास्टिकजन्य फोहोर खुला रूपमा जलाउने कार्य वायु प्रदूषणका प्रमुख स्रोत हुन्।
जाडोयाममा चिसो मौसमका कारण प्रदूषित हावा सहज रूपमा फैलिन नसक्दा प्रदूषणको मात्रा बढ्न सक्ने महानगरले जनाएको छ। यसको असर बालबालिका, ज्येष्ठ नागरिक, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति र दीर्घरोगीमा बढी पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
प्रदूषण नियन्त्रणका लागि महानगरले सवारीसाधनलाई तोकिएको प्रदूषण मापदण्डभित्र राख्न, नियमित मर्मतसम्भार गर्न र अत्यधिक धुवाँ उत्सर्जन हुने अवस्था रोक्न अनुरोध गरेको छ। निर्माण सामग्री सडक तथा फुटपाथमा नराख्न र सामग्री ढुवानी तथा लोड–अनलोड गर्दा धुलो उड्न नदिन आवश्यक व्यवस्था मिलाउन पनि सूचनामा भनिएको छ।
त्यस्तै, प्लास्टिकलगायत कुनै पनि फोहोर खुला स्थानमा जलाउन नपाइने महानगरले स्पष्ट पारेको छ। मापदण्डविपरीत धुवाँ उत्सर्जन गर्ने सवारीसाधन सञ्चालन गर्ने तथा प्रतिबन्धित गतिविधि गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
महानगरभित्रका उद्योग, कलकारखाना र अस्पताललाई ‘काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ ले तोकेको वायु गुणस्तर तथा धुवाँ उत्सर्जनसम्बन्धी व्यवस्था पालना गर्न र प्रदूषण नियन्त्रणका उपकरण अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ।
महानगरले घरबाहिर निस्कँदा वा हिँडडुल गर्दा मास्क प्रयोग गरी व्यक्तिगत स्वास्थ्य सुरक्षामा ध्यान दिन नगरवासीलाई सुझाव दिएको छ। वायु गुणस्तरको पछिल्लो अवस्थाबारे जानकारी लिन महानगरपालिका तथा सरकारका आधिकारिक वेबसाइट हेर्न पनि सूचनामार्फत अनुरोध गरिएको छ।