सराङकोटको अन्नपूर्ण केबुलकारमा प्राविधिक समस्या, लिफ्टमा फसे सात यात्रु
सराङकोटको अन्नपूर्ण केबुलकारमा प्राविधिक समस्या, लिफ्टमा फसे सात यात्रु
    • बेल संचार

    • १९ कार्तिक २०८३, बुधबार

काठमाडौं, १८ कात्तिक ।

पोखराको सराङकोटस्थित अन्नपूर्ण केबुलकारमा लिफ्टमा प्राविधिक समस्या आएपछि सात यात्रु फसेका छन्। मंगलबार साँझ करिब एक घण्टासम्म सेवा अवरुद्ध हुँदा सराङकोटको टप स्टेसनमा रहेका अन्य पर्यटकसमेत रोकिएका थिए।

नोभेम्बर ३ को साँझ करिब साढे ५ देखि साढे ६ बजेसम्मको अवधिमा सूर्यास्त अवलोकन गरेर फर्कने तयारीमा रहेका यात्रु लिफ्टभित्र अड्किएका हुन्। केबुलकारको अन्तिम समूहमा चढेर ताल किनारस्थित बटम स्टेसनतर्फ झर्न लागेका सात जना स्टेसनको लिफ्टमा फसेका थिए।

लिफ्टमा एक फ्रान्सेली परिवारका सदस्य, तीन नेपाली नागरिक र सामाजिक सञ्जालमा करिब ५० लाख फलोअर्स भएका एक रुसी इन्फ्लुएन्सर रहेको समाचारमा उल्लेख छ।

लिफ्टमा पंखा र वातानुकूलित प्रणाली नहुँदा भित्र गर्मी तथा उकुसमुकुस बढेको थियो। त्यसमाथि बत्ती पटक–पटक निभ्ने र बल्ने हुँदा यात्रु अँध्यारोमा परेका थिए। पर्याप्त हावा नपाउँदा उनीहरूलाई असहज हुनुका साथै त्रास र मानसिक तनावसमेत बढेको बताइएको छ।

यात्रु फसेपछि व्यवस्थापनले जोखिम न्यूनीकरणका लागि केबुलकार सेवा नै बन्द गरेको थियो। यसका कारण सूर्यास्त हेरेर फर्कन लागेका करिब २५ पर्यटक टप स्टेसनमै रोकिएका थिए।

उद्धारका क्रममा स्थानीय कर्मचारीले सामान्य औजार प्रयोग गरी लिफ्टको ढोका खोल्ने प्रयास गरेका थिए। प्राविधिक टोलीसँग ह्वाट्सएपमार्फत सम्पर्क गरी निर्देशन लिएपछि अन्ततः ढोका जबर्जस्ती खोलेर सातै यात्रुलाई बाहिर निकालिएको थियो। त्यसपछि टप स्टेसनमा रोकिएका अन्य पर्यटकलाई पनि सुरक्षित रूपमा तल झारिएको र केबुलकार सेवा पुनः सञ्चालनमा आएको जनाइएको छ।

घटनामा कुनै मानवीय क्षति नभए पनि यसले केबुलकारको प्राविधिक सुरक्षा, आपत्कालीन तयारी र उद्धार क्षमताबारे प्रश्न उठाएको छ। पर्यटकीय गन्तव्यका रूपमा पोखराको सुरक्षा र विश्वसनीयता कायम राख्न यस्ता सेवामा प्रभावकारी सुरक्षा व्यवस्था तथा आपत्कालीन उद्धार प्रणाली आवश्यक रहेको देखिएको छ।

साताकाे चर्चित
सम्बन्धित