मंसिर १ देखि मासु पसल र वधशालामा नयाँ मापदण्ड लागू हुँदै, अनुमति लिन ललितपुर प्रशासनको निर्देशन
मंसिर १ देखि मासु पसल र वधशालामा नयाँ मापदण्ड लागू हुँदै, अनुमति लिन ललितपुर प्रशासनको निर्देशन
    • बेल संचार

    • १९ कार्तिक २०८३, बुधबार

काठमाडौं, १८ कात्तिक ।

उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले आगामी मंसिर १ गतेदेखि काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ पूर्ण रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ।

ऐन कार्यान्वयनको तयारीस्वरूप जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभित्र सञ्चालनमा रहेका मासु पसल, पशु वधस्थल तथा वधशालालाई तोकिएको मापदण्ड पूरा गरी आवश्यक सञ्चालन अनुमति लिन निर्देशन दिएको छ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार उपत्यकाका सबै स्थानीय तहमा ऐन लागू गर्ने सरकारको निर्णयलाई कार्यान्वयन गर्न प्रशासनले यस्तो कदम चालेको हो।

प्रशासनले मासु व्यवसाय तथा वधशाला सञ्चालन गर्दै आएका सबै व्यवसायीलाई सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिन र कानुनले निर्धारण गरेका मापदण्ड पूरा गरेर मात्रै व्यवसाय सञ्चालन गर्न सूचित गरेको छ।

सरकारले मंसिर १ गतेपछि अनुमति नलिई वा तोकिएको मापदण्डविपरीत सञ्चालन हुने व्यवसायमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।

नयाँ नियम तथा मापदण्डबारे थप जानकारी लिन चाहने व्यवसायीले ललितपुरको लगनखेलस्थित पशु सेवा कार्यालयमा सम्पर्क गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित