काठमाडौं ।
वायुयान तथा त्यसका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल र सहज बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ।
नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्ल्यू) मार्फत सेवा प्रवाह गर्ने उद्देश्यले बुधबार दुई निकायबीच सम्झौता गरिएको हो।
सम्झौताअनुसार एचएस कोड ८८०१ र ८८०२ अन्तर्गत पर्ने वायुयान तथा पार्टपुर्जाको आयात–निर्यातका लागि आवश्यक पर्ने नागरिक उड्डयन प्राधिकरणको सिफारिस र अनुमति अब अनलाइन प्रणालीबाटै प्राप्त गर्न सकिनेछ।
नयाँ व्यवस्थाले अनुमति तथा सिफारिस लिन विभिन्न सरकारी कार्यालयमा प्रत्यक्ष उपस्थित हुनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ।
यस प्रणालीको कार्यान्वयनसँगै वायुयान तथा पार्टपुर्जाको आयात–निर्यात प्रक्रिया छिटो, पारदर्शी र प्रविधिमैत्री बन्नुका साथै सरकारी निकायबीच डिजिटल समन्वयसमेत प्रभावकारी हुने विश्वास गरिएको छ।