काठमाडौं, १८ कात्तिक ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ।
शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन्।
इलाममा २५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले वार्ता समिति गठन गरेको हो। स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। हाल उनी थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।
यसपटक डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित छ बुँदे माग अघि सारेका छन्। तीमध्ये कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्था नगरी एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने माग पनि समावेश छ।