बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, छ जना घाइते
बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, छ जना घाइते
    • बेल संचार

    • २० कार्तिक २०८३, बिहीबार

बैतडी ।

बैतडीको मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्ट नजिकै सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

प्रहरीका अनुसार गएराति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको थियो। जिपमा चालकसहित सात जना सवार थिए।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको थियो। उपचारकै क्रममा राति ८ः३५ बजे पञ्चेश्वर गाउँपालिका–२ निवासी ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये पञ्चेश्वर गाउँपालिका–२ की २२ वर्षीया सोमनी मंगोलाको भित्री चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ। सोही स्थानका ११ वर्षीय अविनास राम लुहारको खुट्टामा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको छ।

दुर्घटनामा घाइते भएका अन्य चार जनाको विवरण भने उपलब्ध गराइएको छैन।

साताकाे चर्चित
सम्बन्धित