काठमाडौं, १९ कात्तिक ।
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन निर्देशन दिएको छ। सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर ब्युरोले बोलाएको जानकारी शिवाकोटीले दिएका छन्।
उनका अनुसार आफू धार्मिक यात्राका क्रममा भारत गएको र अहिले इलाम आइपुगेको अवस्थामा प्रहरीले निकट साथीमार्फत सन्देश पठाएर उपस्थित हुन भनेको हो। फोन आफूसँग नभएकाले साथीलाई सन्देश पठाइएको उनले बताए।
अनलाइनखबरसँग कुरा गर्दै शिवाकोटीले आफूलाई तर्साउन खोजिएको हुन सक्ने प्रतिक्रिया दिएका छन्। उनले भने, “तर्साउन खोजेको होला, सत्तासँग डराइन्नँ।”
पत्रकार रोशन खड्काले उजुरी दिएको भन्ने जानकारी आफूले पाएको पनि शिवाकोटीले बताएका छन्। काठमाडौं फर्किएपछि यस विषयमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्ने उनको भनाइ छ।
यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले आजै पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्।