मकवानपुर ।
बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले २५५ जना कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाजको जिम्मेवारी परिवर्तन गरेको छ। प्रदेशका विभिन्न जिल्लामा कार्यरत र पदस्थापन हुन बाँकी कर्मचारीलाई समेटेर मन्त्रालयले नयाँ जिम्मेवारी तोकेको हो।
मन्त्रालयको कात्तिक १९ गतेको सचिवस्तरीय निर्णयअनुसार प्रदेश इन्जिनियरिङ सेवा, प्रदेश प्रशासन सेवा र अस्थायी दरबन्दीअन्तर्गतका कर्मचारीको व्यवस्थापन गरिएको हो।
मन्त्रालयका अनुसार प्रदेशमा सञ्चालन भइरहेका खानेपानी, जलस्रोत, सिँचाइ, नदी नियन्त्रण तथा ऊर्जा क्षेत्रका योजनालाई प्रभावकारी रूपमा अघि बढाउन र नयाँ संगठनात्मक संरचनाअनुसार जनशक्ति परिचालन गर्न कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
निर्णयअनुसार इन्जिनियरिङ सेवातर्फका १३३ जना प्राविधिक कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ। वरिष्ठ इन्जिनियरदेखि सब–इन्जिनियरसम्मका कर्मचारीलाई विभिन्न जिल्लाका डिभिजन, सब–डिभिजन तथा प्रादेशिक समन्वय कार्यालयमा खटाइएको छ।
वरिष्ठ इन्जिनियर विजय श्रेष्ठलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौं, शेखरप्रसाद मैनालीलाई काभ्रे र किरणराज कार्कीलाई नुवाकोटमा जिम्मेवारी दिइएको छ। त्यस्तै दिलिपकुमार बीकेलाई काठमाडौं, विशाल केसीलाई मन्त्रालय र कुश बुढाथोकीलाई दोलखामा खटाइएको छ।
यसैगरी सुवास बानियाँलाई सिन्धुली, केवल पण्डितलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुर, सृष्टि श्रेष्ठलाई सिन्धुपाल्चोक, अचला पौडेललाई भक्तपुर र दीपिका शर्मालाई काभ्रेमा पदस्थापन गरिएको छ।
नेशन श्रेष्ठलाई चितवनस्थित जलस्रोत विकास तथा सिँचाइ व्यवस्थापन डिभिजन र युगलकिशोर रायलाई सिन्धुपाल्चोकको खानेपानी तथा सरसफाइ डिभिजनमा जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले २८ जना इन्जिनियर तथा हाइड्रोजियोलोजिस्टको समेत सरुवा तथा पदस्थापन गरेको छ। नितु पराजुली, पुष्प भट्टराई र दिनेश अधिकारीलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुरमा पठाइएको छ। त्यस्तै आनन्द पौडेल, अनुपा श्रेष्ठ, विश्वज्योति भण्डारी र हेमराज बोगटीलाई उपत्यका खानेपानी, सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय भक्तपुरमा जिम्मेवारी दिइएको छ।
श्यामकान्त चौधरी, रामगोविन्द शाह, प्रज्ञा आचार्य, महेशकुमार नेपाली, आकाश श्रेष्ठ, दिनेश पोखरेल, श्रीकुमार लामा, मिनबहादुर थापा, प्रतीक्षा पौडेल, सुस्मिता लामिछाने, केशवराज आचार्य, विविश प्याकुरेल, सुवास अर्याल, सोनु थापा सारु, अजयकुमार यादव, रुकेश राजभण्डारी, एलिना बेल्वासे र कामेश्वर दासलगायतका इन्जिनियरहरूको पनि विभिन्न जिल्लामा कार्यक्षेत्र तोकिएको छ।
हाइड्रोजियोलोजिस्टतर्फ संजयप्रसाद कुशवाहा र उमा पाण्डेलाई भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन चितवनमा पदस्थापन गरिएको छ।
त्यस्तै सहायक इन्जिनियर तथा सब–इन्जिनियर गरी ९२ जनाको सरुवा र पदस्थापन गरिएको छ। विक्रम फैंजु, मनोज खड्का, मन्दिरा महर्जन, कल्पना कुमारी सिंह, अच्युतराज पौडेल, राजु भट्टराई, दुर्गाबहादुर श्रेष्ठ, विकासकुमार लाल, राधेश्याम श्रेष्ठ, विष्णुबहादुर लो, निशा महतो, सन्तकुमार नेपाल, विजय महर्जन र दिव्यारानी झा लगायतका कर्मचारीलाई काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, दोलखा, धादिङ र काठमाडौंका विभिन्न कार्यालयमा खटाइएको छ।
यसैगरी प्रदेश प्रशासन सेवातर्फ ३२ जना कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको छ। मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित डिभिजन कार्यालयमा कार्यरत अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो।
प्रशासनतर्फ शाखा अधिकृत करुणा पराजुलीलाई उपत्यका खानेपानी, सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय भक्तपुर, सपना थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र दिवाकर सोतीलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुरमा जिम्मेवारी तोकिएको छ।
मन्त्रालयले कर्मचारीको नयाँ जिम्मेवारीसँगै प्रदेशभरका खानेपानी, ऊर्जा तथा सिँचाइसम्बन्धी योजनाको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरेको छ।