काठमाडौँ ।
सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका छन् भने ट्रकमा लोड गरिएको सामानको करिब ८० प्रतिशत जलेर नष्ट भएको छ।
काठमाडौँबाट ‘कृष्ण ट्रान्सपोर्ट’को सामान लिएर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक र स्कुटर भिमानमा ठोक्किएका थिए। ठक्करपछि ट्रकमा आगो लागेको बताइएको छ।
दुर्घटनामा स्कुटरमा सवार हेमराज बख्रेल र सृजना अधिकारी घाइते भएका छन्। जिल्ला अस्पताल सिन्धुलीका अनुसार बख्रेलको अवस्था सामान्य रहेको छ। उनको अस्पतालमै भर्ना गरी उपचार भइरहेको छ।
अर्की घाइते अधिकारीलाई भने थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चासो व्यक्त गरेका छन्। उनले सम्बन्धित निकायसँग घटनाको विवरण लिँदै दुर्घटनाको आवश्यक छानबिन गरी कानुनअनुसार प्रक्रिया अघि बढाउन स्थानीय इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।
सभापति गजुरेलले जिल्ला अस्पतालका प्रमुखसँग पनि सम्पर्क गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थाबारे जानकारी लिएका थिए।
उनले घाइते दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन, घाइतेको उचित उपचार र कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।