काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा चार चौका र एक छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले २२ बलमा दुई चौका र दुई छक्कासहित २७ रन जोडे।
जैब र भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए। तर, आठौँ ओभरमा भण्डारी र नवौँ ओभरमा जैब आउट भएपछि सुदूरपश्चिमको ब्याटिङ केही दबाबमा परेको थियो।
ब्रान्डन म्याकमुलेनले १६ बलमा दुई चौका र एक छक्काको मद्दतले २४ रन बनाए भने इशान पाण्डेले १३ बलमा तीन छक्का प्रहार गर्दै २३ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए।
अन्तिमतिर थरिन्द्र रत्नायकेले आक्रामक ब्याटिङ गर्दै १२ बलमा तीन चौका र एक छक्कासहित अविजित २२ रन बनाए। स्कट कुगेलेइनले पनि ६ बलमा दुई चौका प्रहार गर्दै अविजित १३ रनको योगदान दिए। सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ५७ रन जोडेको थियो।
कर्णाली याक्सका लागि मार्क वाटले दुई विकेट लिए। नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले एक–एक विकेट हात पारे।