काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी स्थानीय तह निर्वाचनका लागि वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिको आवेदन अपेक्षाअनुसार नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
रास्वपाले गाउँपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि भदौ १ गतेदेखि र नगरपालिकाका पदका लागि असोज २८ गतेदेखि आवेदन खुला गरेको थियो। तर, हालसम्म प्राप्त आवेदनमा गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुख पदमा उम्मेदवारी दिन चाहनेको संख्या बढी देखिएको छ। वडा तहका पदमा भने अपेक्षित आवेदन नपरेको पार्टी नेतृत्वको भनाइ छ।
शुक्रबार चितवनमा आयोजित कार्यक्रममा सभापति लामिछानेले पार्टीभित्र वडाध्यक्ष बन्न इच्छुक व्यक्तिको अभाव देखिएको भन्दै व्यंग्यात्मक टिप्पणी गरे। उनले पार्टीका नेता तथा कार्यकर्ताले स्थानीय तहको प्रमुख पदमा मात्रै चासो देखाएको तर वडा तहका जिम्मेवारी लिन अग्रसर नभएको बताए।
‘वडाध्यक्ष उठ्न त मैले आफैँ राजीनामा दिएर आउनुपर्ने अवस्था देखियो,’ उनले भने, ‘हाम्रा साथीहरू वडाध्यक्ष बन्न इच्छुक देखिँदैनन्। सबै एकैपटक पालिका प्रमुख बन्न खोजिरहेका छन्।’
वडा तहमा उम्मेदवार बन्न कसैले चासो नदेखाए आफू नै पदबाट राजीनामा दिएर चुनावमा उठ्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।
लामिछानेले स्थानीय तहका प्रमुख पदमा मात्रै केन्द्रित हुने प्रवृत्तिले राजनीतिमा अवसर खोज्ने सोचलाई देखाएको टिप्पणी गरे। उनले पार्टीका सदस्य तथा कार्यकर्तालाई पद र अवसरलाई मात्र प्राथमिकता नदिन आग्रह गरे।
उनले विगतमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले देखाएको राजनीतिक निष्ठाबाट सिक्नुपर्ने धारणा पनि राखे। विशेषगरी पञ्चायतकालका ३० वर्षमा कांग्रेसका नेता तथा कार्यकर्ताले तत्कालीन अवसरको अपेक्षाभन्दा राजनीतिक प्रतिबद्धतालाई प्राथमिकता दिएको उदाहरण प्रस्तुत गर्दै उनले कार्यकर्तालाई निष्ठाको राजनीति अपनाउन सुझाव दिए।