काठमाडौं ।
दक्षिण अफ्रिकाका अनुभवी आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्। तर, उनको अविजित ९३ रनको इनिङ्सले पनि कर्णाली याक्सलाई जित दिलाउन सकेन। शुक्रबार भएको खेलमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।
कर्णालीका लागि मिलरले ५५ बलमा ५ चौका र ७ छक्काको मद्दतमा अविजित ९३ रन बनाए। एकातिरबाट निरन्तर रन जोडिरहेका मिलरलाई अर्को छेउबाट अन्य ब्याटरले पर्याप्त साथ दिन सकेनन्। विकेटकिपर दीपक डुम्रेले १२ बलमा ३ चौका र एक छक्कासहित १८ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
सुदूरपश्चिमका बलरमध्ये स्कट कुगेलेइनले दुई विकेट लिए। हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अविनाश बोहराले समान एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन जोडे। उनले २४ बलमा ४ चौका र एक छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए। यी दुईले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए।
त्यसपछि ब्रान्डन म्याकमुलेनले १६ बलमा २ चौका र एक छक्कासहित २४ रन बनाए भने इशान पाण्डेले १३ बलमा तीन छक्का प्रहार गर्दै २३ रनको योगदान दिए। कप्तान दीपेन्द्रसिंह ऐरीले १० र आरिफ शेखले ११ रन बनाए।
अन्तिम ओभरहरूमा थरिन्दु रत्नायके र स्कट कुगेलेइनले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकासे। रत्नायकेले १२ बलमा ३ चौका र एक छक्कासहित अविजित २२ रन बनाए। कुगेलेइनले ६ बलमा २ चौका प्रहार गर्दै अविजित १३ रन जोडे। सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा मात्रै ५७ रन थपेको थियो।
कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए। नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट हात पारे।
यस जितसँगै पाँच खेलबाट तीन जित निकालेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। चार खेल खेलेको कर्णालीको यो लगातार दोस्रो हार हो। चार अंकसहित कर्णाली पाँचौँ स्थानमा झरेको छ।