कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल शनिबार टर्की जाँदै
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल शनिबार टर्की जाँदै
    • बेल संचार

    • २१ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै शनिबार टर्की प्रस्थान गर्ने भएका छन्।

टर्कीको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने सम्मेलनमा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। उनको सचिवालयका अनुसार उनले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसैगरी, नोभेम्बर ११ र १२ मा हुने विश्व नेताहरूको शिखर सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्।

सम्मेलनका क्रममा नेपालसहित ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमाली क्षेत्रको जलवायु संकटसम्बन्धी उच्चस्तरीय कार्यक्रममा समेत उनको सहभागिता रहनेछ। उक्त कार्यक्रममा हिमनदी, हिउँ तथा अन्य हिमाली जलप्रणालीको संरक्षण, जलवायु परिवर्तनको जोखिम र त्यसको सामना गर्न आवश्यक दिगो वित्तीय व्यवस्थाबारे छलफल हुनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागी हुनुका साथै अन्य देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।

नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य र कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सरकारी अधिकारी सहभागी हुनेछन्।

परराष्ट्रमन्त्री खनालको भ्रमण नोभेम्बर १४ मा सम्पन्न हुने र उनी सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ।

साताकाे चर्चित
सम्बन्धित