चितवनको दोस्रो जित, पोखरा ३० रनले पराजित हुँदै लगातार चौथो खेलमा पनि असफल
चितवनको दोस्रो जित, पोखरा ३० रनले पराजित हुँदै लगातार चौथो खेलमा पनि असफल
    • बेल संचार

    • २१ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै चितवन अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो। पोखराका ब्याटरहरू नियमित अन्तरमा आउट हुँदा टोलीले लक्ष्य भेट्टाउन सकेन।

पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ४४ बलमा ३ चौका र एक छक्का प्रहार गरे। युवराज सम्राले १९ रन बनाउँदा किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नयाँ कप्तान चमिका करुणारत्नेको नेतृत्वमा मैदान उत्रिएको पोखराले ओपनिङ जोडीमा पनि परिवर्तन गरेको थियो। कुशल भुर्तेल र युवराज सम्राले पारी सुरु गरे पनि भुर्तेल पहिलो ओभरको तेस्रो बलमै ४ रन बनाएर आउट भए।

त्यसपछि सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे। सम्रा १४ बलमा १९ रन बनाएर आउट भएपछि पोखराको ब्याटिङ क्रम सम्हालिन सकेन। सदिरा समराविक्रमा ४ र महेदी हसन ७ रनमा आउट भए।

एक छेउबाट अर्जुन कुमालले संघर्ष जारी राखे पनि उनलाई अन्य ब्याटरले साथ दिन सकेनन्। कप्तान करुणारत्ने २ रनमै आउट भए भने सुदीप अर्याल, विपिन खत्री र सागर ढकालले खाता खोल्न सकेनन्।

चितवनको जितमा रिजन ढकालले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चिए। कमल सिंह ऐरीले २ ओभरमा एक मेडन राख्दै ७ रन मात्र दिएर ३ विकेट हात पारे। डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो।

चितवनका कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै १६ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३७ रन बनाए। रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रनको योगदान दिए।

ओपनर अर्जुन साउद र डाविड मालानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए। साउदले २७ बलमा २ चौका र एक छक्कासहित ३१ रन बनाए भने मालानले २८ बलमा ३ चौकाको मद्दतमा २८ रन जोडे।

त्यसपछि रवि बोपाराले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि डान मोस्ले २ र यस सिजनको पहिलो खेल खेलिरहेका कुशल मल्ल ११ रनमा आउट भए। ८६ रनमा चार विकेट गुमाएको अवस्थामा बोपारा र कप्तान राजाले पाँचौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै टोलीको स्कोर बढाए।

तर, अन्तिम ओभरमा पोखराका कप्तान करुणारत्नेले दुवै सेट ब्याटरलाई आउट गरे। बोपाराले २८ बलमा ३ चौका र एक छक्कासहित ३५ रन बनाए भने राजाले १६ बलमा ३७ रन जोडे। कमल सिंह ऐरी २ रनमा अविजित रहे।

पोखराका लागि करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए।

यस जितसँगै चार खेल खेलेको चितवनले दोस्रो जित निकाल्दै ५ अंकसहित तालिकाको तेस्रो स्थानमा स्थान बनाएको छ। यता पोखराको भने यो लगातार चौथो हार हो। चार खेलबाट कुनै अंक जोड्न नसकेको पोखरा अंकतालिकाको पुछारमा रहेको छ।

उल्लेखनीय छ, लगातार तीन हारपछि पोखराले कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा श्रीलंकाली खेलाडी चमिका करुणारत्नेलाई नेतृत्वको जिम्मेवारी दिएको थियो। तर, कप्तान परिवर्तनपछि पनि टोलीले जितको खाता खोल्न सकेन।

साताकाे चर्चित
सम्बन्धित