काभ्रेपलाञ्चोक ।
बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणको कामले गति लिन थालेको छ। सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनःनिर्माणको काम सुरु गरेको छ। यससँगै अन्य तीन खण्डमा पनि निर्माण कार्य अघि बढिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयका अनुसार बर्खेखोला–पिप्ले खण्ड पुनःनिर्माणका लागि जाइकासँग दुई अर्ब ६० करोड रुपैयाँमा सम्झौता भएको छ। डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले उक्त खण्डमा हालै निर्माण कार्य सुरु भएको जानकारी दिए।
त्यसैगरी, पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मका विभिन्न खण्डमा पनि पुनःनिर्माण भइरहेको छ। पिप्लेदेखि भकुण्डेबेँशीसम्मको सडक पुनःनिर्माणमा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ।
निर्माणको जिम्मेवारी पाएका विभिन्न कम्पनीले छुट्टाछुट्टै समयसीमाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेका छन्। डालाबेँशीदेखि चारसयबेँशीसम्मको ८.५ किलोमिटर सडक निर्माणको जिम्मा खानी–एवान–कमलजीत जेभीले पाएको छ। उक्त कम्पनीले २०८४ जेठ मसान्तसम्म काम सम्पन्न गर्ने जनाएको छ।
त्यस्तै, चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको ११.८ किलोमिटर सडक लामा–नवकान्तिपुर जेभीले २०८४ असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। पिप्लेदेखि डालाबेँशीसम्मको २.३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको उमा एन्ड कम्पनी–भण्डारी जेभीले भने २०८४ कात्तिक २६ गतेसम्म काम सक्ने समयसीमा पाएको छ।
डिभिजन प्रमुख योगेशले राजमार्ग पुनःनिर्माणको काम निर्धारित योजनाअनुसार अघि बढिरहेको बताए। आगामी वर्षायाम सुरु हुनुअघि निर्माणाधीन तीन खण्डमा कम्तीमा एक तह कालोपत्रे गर्ने तयारी भइरहेको उनको भनाइ छ।
विसं २०८१ असोज दोस्रो सातामा रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोकस्थित दाप्चाखोला पुलदेखि सिन्धुलीको नेपालथोकसम्म करिब २९ किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको थियो। बाढीबाट क्षतिग्रस्तमध्ये काभ्रेपलाञ्चोकतर्फको २५.११ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर पुनःनिर्माण भइरहेको छ। उक्त सडकलाई दुई लेनको समर्पित राजमार्गका रूपमा विकास गर्ने योजना छ।
पुनःनिर्माणका लागि पिप्लेदेखि डालाबेँशीसम्मको खण्डमा ६८ करोड ८० लाख रुपैयाँ, डालाबेँशीदेखि चारसयबेँशीसम्म एक अर्ब ४२ करोड रुपैयाँ र चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्म एक अर्ब ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
यसैबीच, राजमार्गमा निर्माण सम्पन्न भएका सडकबाटै सवारीसाधन सञ्चालन भइरहेको कार्यालयले जनाएको छ। केही साँघुरा तथा जोखिमयुक्त स्थानमा डाइभर्सन बनाएर दुईतर्फी आवागमनको व्यवस्था मिलाइएको छ। चौकीडाँडा, पिन्थली र डालाबेँशी–पिप्ले खण्डका केही स्थानमा सडक मर्मत तथा व्यवस्थापनको काम जारी छ।
डिभिजन प्रमुख योगेशका अनुसार वर्षाका कारण माथिबाट लेदो वा पहिरो खसेर सडक अवरुद्ध भए तत्काल खुलाउन आवश्यक निर्माण सामग्रीसमेत तयारी अवस्थामा राखिएको छ। सामान्य अवस्थामा सवारी जामको समस्या नरहेको उनको भनाइ छ।
पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौंसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग पुनःनिर्माणका लागि सरकारले कुल आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीको एक खण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ।
पुनःनिर्माण योजनाअन्तर्गत पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने तथा तीनवटै सडक खण्डमा कुल ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण गर्ने योजना पनि रहेको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो बीपी राजमार्ग निर्माण सुरु भएको थियो। विभिन्न चरणमा निर्माण सम्पन्न भएपछि जापान सरकारले २०७२ असार १८ गते उक्त राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।