काठमाडौं ।
भोटेकोसी बाढीका बेला प्रभावकारी पूर्वतयारी र उद्धार संयन्त्रको अभावका कारण ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको ज्यान जोगाउन कठिन भएको अधिकारकर्मीहरूले बताएका छन् ।
ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम ‘राइजिङ फ्रम द रोअर’मा बोल्दै अपांगता अधिकारकर्मी रमेश पोखरेलले विपद् व्यवस्थापनको तयारीमा अपांगता भएका व्यक्तिलाई स्थानीय तहसम्म समेट्न नसक्दा ठूलो मानवीय क्षति भएको बताए ।
उनका अनुसार विपद्को जोखिममा रहेका अपांगता भएका व्यक्तिको पहिचान, आवश्यक तथ्यांक संकलन र उद्धारका लागि स्थानीय स्तरमा प्रभावकारी संयन्त्र नहुँदा उनीहरूको जीवनरक्षा चुनौतीपूर्ण बनेको हो । विपद्पछि राहत वितरणमा समेत यही कमजोरीका कारण समस्या देखिएको उनले उल्लेख गरे ।
राष्ट्रिय अपांग महासंघ नेपालका अनुसार विपद्का कारण १३ जना अपांगता भएका व्यक्तिको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् । त्यस्तै, युनिसेफको तथ्यांकअनुसार चार जिल्लाका १ हजार ८५४ जना अपांगता भएका व्यक्ति विपद्बाट प्रभावित भएका छन् ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए । उनले वडा स्तरसम्मै सक्रिय र सक्षम विपद् व्यवस्थापन समिति गठन गरी तयारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले विपद्का बेला सबैभन्दा पहिले खोज तथा उद्धार र नागरिकको जीवनरक्षालाई प्राथमिकता दिनुपर्ने बताए । भोटेकोसी–त्रिशूली क्षेत्रमा सडक सम्पर्क अवरुद्ध हुँदा उद्धार तथा राहत सामग्री पुर्याउन हेलिकोप्टरको प्रयोग गर्नुपरेको पनि उनले जानकारी दिए ।
वक्ताहरूले विपद् आउनुअघि नै जोखिममा रहेका नागरिकको पहिचान, आवश्यक तथ्यांक व्यवस्थापन र समावेशी उद्धार योजनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन् ।