म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको आगमन बढेको छ। दसैँ तथा तिहारको बिदा र अनुकूल मौसमका कारण नेपाली, भारतीय तथा विदेशी पर्यटक यस क्षेत्रको भ्रमणमा पुग्न थालेका छन्।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्ग अहिले पर्यटकको रोजाइमा पर्न थालेका छन्।
मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार दसैँपछि दैनिक औसत दुई सय जना पर्यटक आधार शिविर पुगिरहेका छन्। गत असोजमा भएको मनसुनजन्य विपद्बाट पदमार्गमा ठूलो क्षति नपुगेको र यात्रा सुरक्षित रहेकाले बिदा मनाउन चाहने युवा तथा रोजगारीमा आबद्ध व्यक्तिहरूको आकर्षण बढेको उनले बताए। उनका अनुसार पदमार्ग क्षेत्रका होटल, रेस्टुरेन्ट र क्याम्पमा पर्यटकको चाप बढेको छ।
समुद्री सतहबाट ४ हजार ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। पर्यटकको चहलपहल बढेसँगै बेनी, भुरुङ–तातोपानी र नारच्याङका पर्यटन व्यवसायीसमेत उत्साहित बनेका छन्।
आधार शिविरको पारिवारिक भ्रमण सकेर फर्किएकी म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमै पूरा गर्न सकिने यो यात्रा छोटो, साहसिक र प्राकृतिक रूपमा निकै रमणीय रहेको अनुभव सुनाइन्।
पर्यटकलाई सहज बनाउन पदमार्गमा विभिन्न पूर्वाधार थपिएका छन्। हुमखोलादेखि आधार शिविरसम्मका स्थानमा अस्थायी संरचना निर्माण गरी चिया, खाजा, खाना तथा आवासको व्यवस्था मिलाइएको छ। सन्धीखर्क, भुसकेट मेला र पञ्चकुण्ड ताल क्षेत्रमा आश्रयस्थलसमेत बनाइएको छ।
त्यस्तै, हुमखोला, फुतफुते झरना, गुफाफाँट, भुसकेट र पञ्चकुण्ड क्षेत्रमा खानेपानी तथा शौचालयको व्यवस्था गरिएको छ। संघ, प्रदेश र स्थानीय तहको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भारसमेत गरिएको छ।
आधार शिविर क्षेत्रमा अन्नपूर्ण हिमालका पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक स्थापना गरिएको छ। त्यहाँ खुला संग्रहालयसमेत निर्माण गरिएको छ। गत साता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र पनि सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिए।
नेपालमा ‘जेठो हिमाल’का रूपमा चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने यस पदमार्गको नाम पहिलो आरोही मौरिस हर्जोगको सम्मानमा राखिएको हो।
नारच्याङको दोभान, छोटेपा हुँदै हुमखोलासम्म करिब २० किलोमिटर सवारीसाधनबाट यात्रा गर्न सकिन्छ। त्यसपछि करिब २१ किलोमिटर पैदलयात्रा गर्दै दुई दिनमा आधार शिविर पुग्न सकिन्छ। बाटोमा पर्ने फुतफुते झरना, पञ्चकुण्ड ताल र अन्नपूर्ण हिमशृङ्खलाको मनमोहक दृश्यले यस पदयात्रालाई थप आकर्षक बनाएको छ।