काठमाडौं ।
प्लास्टिकजन्य कृत्रिम फूलमालाको बिक्रीवितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै स्वदेशी फूल तथा माला बिक्रीका लागि उपत्यकाभित्र ३३ स्थान निर्धारण गरेको छ। महानगरले तोकेका बिक्रीस्थलमा अहिले फूलमाला किन्ने र बेच्ने सर्वसाधारण तथा व्यवसायीको चहलपहल बढेको छ।
महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेका फूलले बजार पाउने र उपभोक्ताले सहज रूपमा स्थानीय फूलमाला खरिद गर्न सकून् भन्ने उद्देश्यले बिक्रीस्थल तोकेको हो। वातावरण विभागसँगको समन्वयमा यी स्थान निर्धारण गरिएको महानगरले जनाएको छ।
महानगरले नयाँ बानेश्वर क्षेत्रका एनबी सेन्टर, आईप्लेक्स मल, मध्यबानेश्वरको सेल्सबेरी, शंखमूलको बिग मार्ट, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई बिक्रीस्थल तोकेको छ।
त्यस्तै, चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडिको क्षेत्रलाई पनि स्वदेशी फूलमाला बिक्रीका लागि अनुमति दिइएको छ।
कमलादीको आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजास्थित बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीका बुद्ध मल र गुणस्तर खाल्डो पनि बिक्रीस्थलको सूचीमा छन्।
यसैगरी, कालिमाटी ब्याङ्क्वेट, चौखेल, हाँडीगाउँ वडा नम्बर ५ कार्यालयअगाडिको डबली, गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पल कारखाना र बालुवाटारको बिग मार्टमा समेत स्वदेशी फूलमाला बिक्री गर्न सकिनेछ।
त्यसका अतिरिक्त टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि फूलमाला बिक्री गर्ने स्थानका रूपमा तोकिएको महानगरले जनाएको छ।
महानगर प्रहरी बलले सार्वजनिक गरेको सूचनामा प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा गुणस्तरहीन फूल, माला र सजावटका सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनी दिएको छ।
महानगरले तिहारमा स्थानीय फूल उत्पादक किसानलाई बजार उपलब्ध गराउने, स्वदेशी उत्पादनको खपत बढाउने र प्लास्टिकजन्य सामग्रीबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने लक्ष्यसहित बजार व्यवस्थापन तथा अनुगमनलाई अघि बढाएको हो।