मुगु
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा मुगु जिल्लाका विभिन्न गाउँबस्तीमा देउसी–भैली खेल्ने क्रम बढ्दै गएको छ।
देउसी–भैलीका गीत, संगीत र नाचगानले जिल्लाको वातावरण नै उत्सवमय बनेको छ।
तिहारको आगमनसँगै बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म देउसी–भैलीमा सहभागी हुँदै रमाइलो गरिरहेका छन्। परम्परागत भाका, मौलिक संस्कृति र सांस्कृतिक प्रस्तुतिमार्फत स्थानीयवासीले तिहारको खुसी साटासाट गरिरहेका छन्।
देउसी–भैली खेल्ने समूहहरू गाउँका घरघरमा पुगेर गीत गाउँदै, नाच्दै र शुभकामना दिँदै मनोरञ्जन प्रदान गरिरहेका छन्। यसले गाउँघरमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई समेत बलियो बनाएको छ।
पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यम बढ्दै गए पनि मुगुका स्थानीयवासीले देउसी–भैलीमार्फत आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई निरन्तरता दिइरहेका छन्।