काठमाडौं ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका पशु विकास अधिकृत डा. सरोज खतिवडासँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै खतिवडालाई ३० दिनभित्र आफ्नो अनुपस्थितिबारे स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार खतिवडा बिदा स्वीकृत नगराई आफू कार्यरत कार्यालयमा लगातार ९० दिनभन्दा बढी समयदेखि अनुपस्थित छन्। वैदेशिक अध्ययन पूरा गरेपछि पनि तोकिएको अवधिभित्र सम्बन्धित कार्यालयमा हाजिर भएको नदेखिएको मन्त्रालयले जनाएको छ।
यसअघि निजामती सेवा नियमावली, २०५० को नियम ११० अनुसार मन्त्रालयले उनलाई १५ दिनभित्र अनुपस्थितिको कारण खुलाउँदै सफाइ पेस गर्ने अवसर दिएको थियो। तर, निर्धारित समयभित्र खतिवडाबाट कुनै जवाफ प्राप्त नभएको मन्त्रालयको सूचनामा उल्लेख छ।
त्यसपछि मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम कारबाही किन नगर्ने भन्ने विषयमा ३० दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो।
