काठमाडौं ।
आज कार्तिक शुक्ल नवमी अर्थात् कुष्माण्ड नवमी विभिन्न धार्मिक विधि र पूजाआजासहित मनाइँदैछ। यस दिनलाई अक्षय नवमी, अमला नवमी र धातृ नवमीका नामले समेत चिनिन्छ।
धार्मिक मान्यताअनुसार आजदेखि कार्तिक पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको वृक्षमा निवास गर्नुहुन्छ। त्यसैले यस अवसरमा अमलाको बोटको पूजा गर्नुका साथै भगवान् विष्णुको आराधना गर्ने परम्परा रहेको छ।
धर्मशास्त्रअनुसार कुष्माण्ड नवमीका दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गरी अन्नलगायतका वस्तु दान गर्दा अक्षय पुण्य प्राप्त हुने विश्वास गरिन्छ। यस दिन अमला र पीपलको विवाह गरिदिने चलन पनि छ। यस्तो धार्मिक कार्यले पुण्य प्राप्त हुने र त्यसको फल जन्मान्तरसम्म रहने जनविश्वास छ।
पद्मपुराणमा उल्लेख भएअनुसार कार्तिक शुक्ल नवमीका दिन द्वापर युगको सुरुवात भएको थियो। यही दिन भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गर्नुभएको धार्मिक कथा प्रचलित छ। उक्त दैत्यको शरीरबाट कुभिन्डो उत्पत्ति भएको मान्यताका कारण यस दिन कुभिन्डो दान गर्नु विशेष पुण्यदायी मानिन्छ।
यस अवसरमा कुभिन्डो, सुन, चाँदी, पहेँलो वस्त्र तथा तामाको भाँडोमा तिल राखेर दान गर्ने परम्परा छ। यसरी दान गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।