विदेशबाट फर्केर नमुना किसान बनेका भोजबहादुर   
विदेशबाट फर्केर नमुना किसान बनेका भोजबहादुर   
    • Bell Sanchar

    • १५ माघ २०८०, सोमबार

बागलुङ

बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै हुनुहुन्छ । उहाँले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहनुभएको छ ।

भोजबहादुरलाई उहाँकी श्रीमतीले साथ दिइरहनुभएको छ । बोहरा दम्पतीले दुधालु भैँसी तीन, एउटा गाई, माउबाख्रा पाँच र कुखुरा १४ वटा पाल्नुभएको छ । बाह्रै महिना दूध बिक्री गर्ने योजनाका साथ पालेका गाईभैँसीले अहिले प्रशस्त आम्दानी दिइरहेका भोजबहादुरले बताउनुभयो । दूधका साथै गोबरलाई मलका रुपमा बेचेर थप आम्दानी गरिरहेका उहाँको भनाइ थियो ।

बिहान उज्यालो नहुँदै बोहरा दम्पती गोठमा पुग्नुहुन्छ । गोठभरिका गाईभैँसी र बाख्रालाई दानापानी दिने, दूध दुहुने, दूध बिक्रीका लागि बजार लैजाने, बारीमा खनजोत गर्नेलगायत कामले दैनिकी बित्ने गरेको बोहरा दम्पती बताउनुहुन्छ ।

भोजबहादुरले तरकारीखेतीका लागि छ वटा प्लाष्टिकका घर निर्माण गर्नुभएको छ । प्लाष्टिकका घरमा फल्ने तरकारीका लागि आवश्यक मल गोठमा बाँधेका पशुचौपायाबाट आउने गरेको भन्दै बारीमा गोलभेँडा, बन्दा, काउली, घिरौँला, करेलालगायत तरकारी फलिरहेका उहाँले जानकारी दिनुभयो ।

चार वर्ष माल्दिभ्स र एक वर्ष साउदी अरेबियामा काम गरेर स्वदेश फर्किनुभएका भोजबहादुरले तरकारी खेती गर्न थालेको १० वर्ष भयो । मासिक रू ५० हजारदेखि रू ७० हजार आम्दानी हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मासु, दूध, मल तथा तरकारी मुख्य आम्दानीको स्रोत भएको छन् ।

“विदेशमा १४ घण्टा खटेर मुस्किलले रू ४० हजार कमाइ हुन्थ्यो । अहिले परिवारसँगै बसेर, दैनिक १० घण्टा काम गर्दा विदेशमभन्दा बढी आम्दानी भइरहेको छ”, भोजबहादुरले भन्नुभयो, “छोराहरुको पढाइ खर्च, जीविकोपार्जन यही पेसाबाट भइरहेको छ । स्वदेशमा काम गर्ने योजना हुनुपर्छ, विदेशमाभन्दा बढी आम्दानी गर्न सकिन्छ ।”

बोहराको तरकारीखेतीको सिको गर्नेले अहिले गाउँमा एक÷दुई वटा प्लाष्टिकका घरमा बनाएर तरकारीखेती गरिरहेका जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले बताउनुभयो । यसरी खेती गरेर सामान्य घरखर्च चलाउनेहरु पालिकामा बढिरहेका उहाँको भनाइ थियो ।

बोहराले स्थानीय बाँस प्रयोग गरी प्लाष्टिकका घर बनाउनुभएको भन्दै उहाँले स्थानीय जातका तरकारी खेतीलाई प्राथमिकता दिने गर्नुभएको शर्माले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित