काठमाडौं ।
काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ। शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो।
नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो। थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् भने नानपत कोन्चारोन्काइले २३ रनको योगदान दिइन्।
नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् भने पुजा महतोले १ विकेट लिइन्।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन मात्र बनाउन सक्यो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन्, जबकि कविता जोशीले १४ तथा कप्तान इन्दु बर्माले १० रन जोडे।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन्। चनिदा सुथिराङ, नताथा बूचाथाम र सुलिपर्न लाओमीले समान १-१ विकेट लिए।
यस जितसँगै थाइल्याण्डले ६ खेलमध्ये ५ मा जित निकाल्दै शृंखलाको उपाधि आफ्नो कब्जामा लिएको छ। उनीहरू एक मात्र खेलमा नेदरल्याण्ड्ससँग पराजित भएका थिए।