काठमाडौँ,
कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्ला, सिंजा गाउँपालिकाको नराकोट, एक विकट गाउँ। त्यहाँबाट सुरु भएको एउटा सानो बालकको यात्रा अहिले काठमाडौंको सिनेमाघरसम्म आइपुगेको छ। नाम हो करण नेपाली। अहिले उनी काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटमा कक्षा ८ मा अध्ययनरत छन्। सानै उमेरदेखि अभिनयप्रति रुचि राख्ने करण अब भने आफ्नो अभिनयको प्रतिभा ठुलो पर्दामा देखाउन थालेका छन्। उनका आँखा भरी सपना छ, आवाजमा आत्मविश्वास, र हरेक संवादमा जुनून।
राज बहादुर सानेद्वारा निर्देशित फिल्म ‘सिटामोल’ करणको फिल्मी यात्रा सुरु गर्ने पहिलो ठूलो अवसर थियो। फिल्मको तीन पोस्टर सार्वजनिक भइसकेका छन् जसमा सौगात मल्ल, बेनिशा हमालजस्ता स्थापित कलाकारहरूसँग करणको उपस्थिति देख्न पाइन्छ।
उनको भूमिकाले दर्शकमाझ एक आत्मीयता र यथार्थताको झल्को दिएको छ। भावनात्मक दृश्यमा उनले देखाएको सरलता, भाव–अभिव्यक्ति, र संवादको लय धेरैका लागि प्रेरणादायी छ। सिन्जाको उकाली–ओराली, चिसो हावाको बीच हुर्किएको एक बालक अब क्यामेराको अगाडि उभिएर राष्ट्रिय कलाकारहरूसँग अभिनय गर्दैछ – यो आफैंमा नेपाली फिल्म उद्योगका लागि उत्साहको कुरा हो।
यसअघि करणले एकवटा गीत भिडियो, एकवटा शर्ट मुभी, र एउटा लघु चलचित्रमा समेत अभिनय गरिसकेका छन्। यसरी फिल्म र अभिनयमा उनको रुचि अभ्यासमार्फत थप प्रगाढ बन्दै गएको छ।
हजुरबुबा रुद्रमान सार्की, बुवा कृपा सार्की, र आमा अप्सरा नेपालीका सुपुत्र करणले सानो उमेरमै कष्टकर भूगोलबाट यात्रा गर्दै काठमाडौँसम्म आइपुगेका छन्। करण नेपालीको जीवनमा उनको परिवारको भूमिका अपार छ। हजुरबुबा रुद्रमान सार्की, बुवा कृपा सार्की, र आमा अप्सरा नेपाली – यी तीन पात्र उनको सफलताका मूल आधार हुन्।
बुवा कृपा सार्की अहिले विदेशमा रहनु हुन्छ। उहाँले विदेशमै रहेर पनि छोराको अभिनय यात्रा सफल होस् भनेर हरेक पल सन्देशमार्फत हौसला दिइरहनु भएको छ। साथै, आर्थिक रूपमा पनि निरन्तर सहयोग गर्दै करणलाई आफ्नो सपना पूरा गर्न दृढ आधार प्रदान गर्दै आउनु भएको छ।”
आमा अप्सरा नेपाली त तिनै हुन् जसले छोरा रोए पनि, थाके पनि, सधैं हौसला दिँदै “तिमी सक्छौ” भन्दै अघिबढाउने प्रेरणा दिनु भयो।
बाल कलाकार बन्ने सपना सजिलो छैन, त्यसमाथि कर्णालीका पहाडहरू चिरेर कलाकार बन्ने सपना त झन् अपत्यारिलो लाग्न सक्छ। तर करणको परिवारले यो अपत्यारिलो सपना साकार बनाउने साहस देखायो।
करण नेपाली भन्छन् : “सुरुमा डर लाग्थ्यो। माइक अगाडि बोल्नै सक्दिनथें, भिड देख्दा हच्किन्थें। तर बिस्तारै सिक्दै गएँ। जब मैले पहिलो पटक क्यामेरासामु अभिनय गरेँ, त्यतिबेला मलाई लागेको थियो– म यो काम गर्न सक्छु।” अब त झन अभिनय सिक्ने उत्साह अझ बढेको छ।”
उनी अहिले कक्षा ८ मा भए पनि, उनको बुझाइ र प्रस्तुतिमा प्रष्ट छ– अभिनय केवल भाव देखाउने काम होइन, त्यो आत्माबाट आउने भावना हो।
करणले अभिनय सिक्ने प्रयासमा कति निश्चलता र उत्साहसाथ दिन बिताएका छन् भन्ने कुरा उनको संवादबाट झल्कन्छ। उनी अभिनयलाई केवल रुचिका लागि होइन, भविष्यको एक बलियो करियरको रूपमा लिन्छन्।
करण नेपालीले अभिनयलाई नै आफ्नो दीर्घकालीन लक्ष्यको रूपमा हेरेका छन्। भविष्यमा ठूला फिल्ममा प्रमुख भूमिकामा देखिने उनको सपना रहेको छ। उनी आफूलाई अभ्यास र अनुभवमार्फत सशक्त कलाकार बनाउने लक्ष्यमा निरन्तर लागिपरेका छन्। करण नेपालीको लक्ष्य भनेको केवल चर्चित बन्नु होइन – उनी आफ्नो अभिनय मार्फत सामाजिक सन्देश दिन चाहन्छन्।
उनले भनेझैं: “फिल्म मेरो सपना हो, तर त्यो सपना अरूलाई प्रेरित गर्न सक्ने हुनुपर्छ। म सधैं सिक्दै जान चाहन्छु।” उनीले सानो गाउँको परिवेशबाट सुरु गरे पनि अब उनलाई देशभरका दर्शकले चिनेका छन्। उनलाई देशभरबाट हौसला मिलिरहने छ ।
करण नेपालीले अभिनयलाई नै आफ्नो दीर्घकालीन लक्ष्यको रूपमा हेरेका छन्। भविष्यमा ठूला फिल्ममा प्रमुख भूमिकामा देखिने उनको सपना रहेको छ। उनी आफूलाई अभ्यास र अनुभवमार्फत सशक्त कलाकार बनाउने लक्ष्यमा निरन्तर लागिपरेका छन्।