काठमाडौं।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई रोचक डर्बी मुकाबिला हुँदैछन्। पूर्वका दुई प्रतिद्वन्द्वी—विराटनगर किङ्स र जनकपुर बोल्ट्स—र पश्चिमका कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स एकैदिन भिड्न लागेपछि आजलाई ‘डर्बी डे’ का रूपमा हेरिएको छ।
आजको पहिलो खेल बिहान ११:१५ बजे विराटनगर र जनकपुरबीच हुनेछ। प्रारम्भिक दुई खेलमा लगातार जित निकालेर शानदार सुरुवात गरेको विराटनगर तेस्रो जितका लागि मैदान उत्रनेछ। पहिलो खेलमै पराजित जनकपुर भने आज जित निकाल्दै तालिकामा आफ्नो उपस्थिति मजबुत बनाउन चाहन्छ। गत संस्करणको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हराएको दाबी आजको भिडन्तमा थप रोमाञ्चकता छर्लङ्ग पार्दछ।
दोस्रो खेलमा अपराह्न ४ बजे कर्णाली र सुदूरपश्चिम आमनेसामने हुनेछन्। कर्णालीले १ जित र १ हारबाट मिश्रित परिणाम ल्याएको छ भने दुवै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम यस खेलमा पनि आफ्नो दबदबा कायम राख्ने उद्देश्यमा हुनेछ। पहिलो संस्करणमा यी दुई टोली भिड्दा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो। ८ खेल सम्पन्न भइसकेको लिगमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स २–२ खेलमा २ जितसहित ४–४ अंकमा शीर्षमा छन्, नेटरनरेटमा सुदूर अगाडि।
१–१ जित र हारसहित कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रोदेखि छैटौं स्थानमा छन्।
जनकपुर बोल्ट्स एक खेलमा हारसहित सातौं तथा दुई खेलमा निरन्तर हार बेहोरेको पोखरा एभेन्जर्स आठौं स्थानमा रहेको छ।