काठमाडौं ।
विकेटकिपर ब्याटर एडम रोसिङ्गटन र अलराउन्डर जिमी नीशमको उत्कृष्ट अर्धशतकीय प्रदर्शनका कारण पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सलाई १५१ रनको चुनौती प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको दिनको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको पोखराले सुरुवातमा दबाब झेले पनि मध्यक्रममा रोसिङ्गटन र नीशमले खेल सम्हाल्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ डोर्याएका हुन् । पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन जोडेको हो ।
ओपनर रोसिङ्गटनले ६३ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८१ रनको इनिङ्स खेले । यता जिमी नीशमले ३२ बलमा ३ चौका र ३ छक्का सहित अविजित ५१ रन बनाउँदै टोलीको स्कोर मजबुत पारे ।
यी दुईले पाँचौँ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गर्दै पोखरालाई संकटबाट उकासेका थिए ।
लुम्बिनी लायन्सका बलरमध्ये शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुलबादिन नाइबले एक विकेट झारे ।