काठमाडौं ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिवार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनायो । दुवै टोली यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् । सुदूरपश्चिमले लिग चरणको शीर्ष स्थान सुनिश्चित गर्दै पहिलो क्वालिफायरमा स्थान बनाइसकेको छ । अब यो खेलको नतिजाले सुदूरपश्चिमसँग पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लाग्नेछ ।
यदि विराटनगरले लक्ष्य १३ ओभर ३ बलभित्र पूरा गरेमा काठमान्डु गोर्खाजलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिनेछ र सुदूरपश्चिमसँग पहिलो क्वालिफायर खेल्नेछ । अन्यथा काठमान्डु नै दोस्रो स्थानमा रहँदै सुदूरपश्चिमसँग पहिलो क्वालिफायर खेल्नेछ ।
सुदूरपश्चिमका लागि आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा १ चौका र ३ छक्का प्रहारसहित अविजित ४५ रन बनाए । इशान पाण्डेले ३५ बलमा २ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडे । यी दुईबीच तेस्रो विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी भएको थियो ।
ओपनर जोश ब्राउनले २५ बलमा २४ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन जोडे । विनोद भण्डारीले १३ बलमा १५ रनको योगदान दिए ।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । प्रतिश जिसीले एक ओभरमा ४ रन दिँदै २ विकेट झारे भने बसिर अहमदले १ विकेट हात पारे ।