उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ३० घाइते, हजारौँ विस्थापित
उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ३० घाइते, हजारौँ विस्थापित
    • बेल संचार

    • २३ मंसिर २०८२, मंगलवार

टोकियो ।

उत्तरपूर्वी जापानको आओमोरी क्षेत्र नजिक सोमबार राति शक्तिशाली भूकम्प गएको छ । ७.५ म्याग्निच्युडको उक्त भूकम्पबाट कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौँ बासिन्दा सुरक्षित स्थानतर्फ सारिएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा आओमोरीको तटबाट करिब ८० किलोमिटर टाढा समुद्रको ५० किलोमिटर गहिराइमा केन्द्रित थियो । भूकम्पपछि सम्भावित सुनामीको चेतावनी जारी गरिएको थियो, जसलाई केही समयपछि हटाइएको छ । तटीय क्षेत्रमा अधिकतम ७० सेन्टिमिटरसम्मका छाल देखिएका थिए ।

भूकम्पका कारण उत्तरपूर्वी क्षेत्रमा रेल सेवामा असर परेको छ भने हजारौँ घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । स्थानीय अधिकारीहरूले आगामी केही दिन अझ शक्तिशाली परकम्प आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कम्तीमा एक हप्तासम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रारम्भिक विवरणअनुसार करिब ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आओमोरी प्रिफेक्चर सरकारले करिब २ हजार ७ सय घरमा बिजुली आपूर्ति बन्द भएको जनाएको छ । पूर्वी जापान रेलवे कम्पनीले पनि उत्तरपूर्वी तट क्षेत्रमा केही रेल सेवा अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ ।

जापान सरकारका प्रमुख सचिव मिनोरु किहाराकाअनुसार प्रधानमन्त्री कार्यालयको संकट व्यवस्थापन केन्द्रमा आपत्कालीन प्रतिक्रिया इकाइ गठन गरी उद्धार तथा राहत टोली परिचालन गरिएको छ । क्षतिको विवरण संकलन र तत्कालीन राहत कार्यलाई तीव्रता दिइएको उनले बताए ।

भूकम्पपछि तोहोकु इलेक्ट्रिक पावर कम्पनीले हिगाशिदोरी र ओनागावा आणविक ऊर्जा केन्द्रमा कुनै असामान्य अवस्था देखिएको छैन भन्ने स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई पनि फुकुशिमा क्षेत्रका निष्क्रिय उपकरणहरू सुरक्षित रहेको जानकारी गराइएको छ ।

स्मरणीय छ, सन् २०११ मा जापानको पूर्वी तटमा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले फुकुशिमा आणविक दुर्घटना निम्त्याउनुका साथै करिब १८ हजारभन्दा बढीको ज्यान गएको थियो ।

साताकाे चर्चित
सम्बन्धित