काठमाडौँ, १८ कार्तिक २०८३
स्थानीय तथा रैथाने कृषि उत्पादनको प्रवद्र्धन, किसानको बजार पहुँच विस्तार तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला २०८३’ आयोजना हुने भएको छ। रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण नेपालको संयुक्त आयोजनामा आगामी कार्तिक २० देखि २२ गतेसम्म काठमाडौंको टोखा–४ स्थित धापासी हाइट रैथाने घरमा मेला सञ्चालन हुनेछ ।
तिहार तथा छठ पर्वको अवसरमा आयोजना हुन लागेको यस मेलामा देशका विभिन्न हिमाली, पहाडी तथा तराई क्षेत्रका किसान, उत्पादक र साना उद्यमीले उत्पादन गरेका स्थानीय तथा रैथाने कृषि उपज, खाद्यवस्तु, परम्परागत परिकार, रैथाने बीउबिजन तथा वातावरणमैत्री कृषि सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ । मेलामा करिब ५० वटा स्टल रहनेछन् भने तीन दिनमा करिब ५ हजार उपभोक्ता तथा सरोकारवालाको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहने अपेक्षा गरिएको छ ।
मेलाको मुख्य उद्देश्य किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु, स्थानीय उत्पादनको बजार विस्तार गर्नु, किसान तथा साना उद्यमीको आय आर्जनमा सहयोग पुर्याउनु र स्वदेशी उत्पादनको उपभोग संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसका साथै स्थानीय बाली, कृषि जैविक विविधता, परम्परागत ज्ञान, सीप तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण र पुस्तान्तरणमा विशेष जोड दिइनेछ ।
पहिलो दिन, कार्तिक २० गते दिउँसो १ बजे मेलाको औपचारिक उद्घाटन समारोह आयोजना गरिनेछ । उद्घाटनपश्चात् दिउँसो २ देखि ४ बजेसम्म राष्ट्रिय जीन बैंकका डा. बालकृष्ण जोशीको विशेष प्रस्तुति रहनेछ । उक्त प्रस्तुतिसहित ‘स्वर्णिम कृषि’को अवधारणा, रैथाने बाली तथा स्थानीय जातको संरक्षण र कृषि जैविक विविधताको महत्व विषयमा अन्तरक्रिया तथा छलफल गरिनेछ। कार्यक्रममा रैथाने बालीको संरक्षण तथा प्रवद्र्धन, दिगो कृषि प्रणाली र भावी पुस्ताका लागि कृषि जैविक विविधताको संरक्षण गर्नुपर्ने आवश्यकताबारे विचार आदानप्रदान हुनेछ ।
दोस्रो दिन, कार्तिक २१ गते रैथाने कृषि उपजको बजारीकरणमा संलग्न उद्यमी, व्यापारी तथा अनलाइन व्यवसायीहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । यसमा रैथाने उत्पादनको बजार विस्तार, खरिद–बिक्री प्रणाली, आपूर्ति व्यवस्थापन तथा किसान र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापित गर्ने विषयमा छलफल हुनेछ ।
यसैगरी, नेपाली मौलिक खानाका परिकारको संरक्षण, प्रवद्र्धन तथा व्यावसायिक विकासमा होटल, रेस्टुरेन्ट, विद्यालयलगायतका संस्थाहरूको भूमिकाबारे छलफल तथा अन्तरक्रिया गरिनेछ । साथै, विभिन्न भौगोलिक क्षेत्र तथा समुदायका मौलिक पहिचान झल्काउने १५ वटाभन्दा बढी रैथाने तथा परम्परागत नेपाली खानाका परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् । यसबाट नेपाली खाद्य संस्कृति, परम्परागत पाककला र स्थानीय स्वादको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सोही दिन दिउँसो २ बजेदेखि स्थानीय महिलाको मौलिक पाककला र परम्परागत सीपको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सेलरोटी बनाउने प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा १० जना स्थानीय महिलाको सहभागिता रहनेछ भने उत्कृष्ट तीन प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी, तिहार विशेष मौलिक देउसी–भैलो कार्यक्रमसमेत आयोजना गरिनेछ ।
तेस्रो दिन, कार्तिक २२ गते आधुनिक तथा वातावरणमैत्री चुलोको महत्व, ऊर्जा बचत, धुवाँबाट हुने प्रदूषण न्यूनीकरण तथा रैथाने परिकार तयार गर्ने विधिबारे छलफल र व्यावहारिक अभ्यास गरिनेछ । मेलामा कृषि तथा खाद्य उत्पादनको प्रदर्शनी र बिक्रीका अतिरिक्त गोबर मल, झोल मल, स्थानीय बीउबिजन, बिरुवा तथा अन्य वातावरणमैत्री कृषि सामग्रीको प्रदर्शन गरिनेछ । यसका साथै दुना–टपरी गाँस्ने, दारको ठेकीमा मोही पार्ने, ढिकी, जाँतो र घट्टको प्रयोग गर्ने तथा मकै भुट्ने जस्ता परम्परागत अभ्यासको प्रदर्शन गरिनेछ ।
आयोजकका अनुसार यो मेला तीन दिनको व्यापारिक गतिविधिमा मात्र सीमित नभई किसान, उत्पादक, उद्यमी, बजार र उपभोक्ताबीच दीर्घकालीन सम्बन्ध स्थापित गर्ने साझा अभियान हो। मेलाले स्थानीय उत्पादनको बजारीकरण, कृषि उद्यमशीलताको विकास, महिला तथा युवा उद्यमीको प्रोत्साहन र नयाँ पुस्तामा रैथाने कृषि तथा मौलिक खाद्य संस्कृतिप्रति रुचि अभिवृद्धि गर्न योगदान पुर्याउने विश्वास लिइएको छ ।
आयोजक संस्थाले सरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र, सहकारी, किसान समूह, उत्पादक, उद्यमी, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा आम उपभोक्तालाई मेलामा सक्रिय सहभागिता जनाउन र स्थानीय उत्पादनको प्रवद्र्धन, किसानको आर्थिक सशक्तीकरण तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण गर्ने यस अभियानमा सहकार्य गर्न हार्दिक अनुरोध गरेका छन् ।
