कास्की ।
तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्लास्टिकबाट बनेका कृत्रिम फूलमालाको बिक्रीवितरण नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र बनाएको छ। स्थानीय उत्पादनका प्राकृतिक फूलमालाको प्रयोग बढाउने र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले महानगरले अनुगमन अभियान सञ्चालन गरेको हो।
सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा त्यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले निगरानी बढाएको जनाएको छ।
महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरपालिका–१ र २ अन्तर्गत विन्ध्यवासिनी तथा बगर क्षेत्रका नौ वटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको थियो। सो क्रममा ६ हजार २८० रुपैयाँ बराबरका प्लास्टिकका माला, कृत्रिम फूल तथा बेकरी सजावटमा प्रयोग हुने सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ।
अनुगमनका क्रममा प्लास्टिकका फूलमालासँगै लेबल उल्लेख नभएका भाइमसला र कृत्रिम रङ प्रयोग गरिएका झिलिङ्गासमेत बिक्रीका लागि राखिएको भेटिएको कडरियाले जानकारी दिए।
महानगरपालिकाले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको कारोबार निरुत्साहित गर्न अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि औपचारिक सूचना जारी गरी प्रतिबन्धित सामग्री बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको थियो।
महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा भएको अनुगमनका क्रममा व्यवसायीलाई कानुन तथा निर्धारित मापदण्ड पालना गर्न सचेत गराइएको थियो। साथै सामग्रीको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा म्याद गुज्रिएका वस्तु बिक्री नगर्न निर्देशन दिइएको छ।
उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाको प्रयोगले वातावरण प्रदूषण बढाउने भएकाले यसको कारोबार नियन्त्रण आवश्यक रहेको बताइन्। तिहारमा कृत्रिम फूलमालाको माग र बिक्री बढ्न सक्ने भएकाले महानगरले बजार अनुगमनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।