मुन्दुम पदमार्गको प्रचारप्रसारका लागि कोशी प्रदेशले सञ्चालनमा ल्यायो वेबसाइट
मुन्दुम पदमार्गको प्रचारप्रसारका लागि कोशी प्रदेशले सञ्चालनमा ल्यायो वेबसाइट
    • बेल संचार

    • २३ कार्तिक २०८३, आईतवार

भोजपुर ।

पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ। पदमार्गको प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान र पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई अनलाइनबाटै उपलब्ध गराउने लक्ष्यसहित वेबसाइट सुरु गरिएको हो।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा ल्याएको उक्त वेबसाइटबाट मुन्दुम पदमार्गसँगै प्रदेशका अन्य पर्यटकीय गन्तव्यबारे पनि जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

उनका अनुसार tourism.koshi.gov.np वेबसाइटमार्फत पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक विशेषता, सांस्कृतिक सम्पदा, स्थानीय रहनसहन तथा पर्यटकीय आकर्षणबारे जानकारी प्राप्त गर्न सकिनेछ।

अध्यक्ष बस्नेतले डिजिटल माध्यमबाट सूचना उपलब्ध हुँदा मुन्दुम पदमार्ग भ्रमणमा आउने आन्तरिक तथा विदेशी पर्यटकलाई यात्रा योजना बनाउन र पदयात्राका क्रममा आवश्यक जानकारी जुटाउन सहज हुने विश्वास व्यक्त गरे।

भोजपुर, खोटाङलगायत पूर्वी पहाडी जिल्लालाई जोड्ने मुन्दुम पदमार्ग प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा परिचित छ। यहाँका हिमाली दृश्य, प्राकृतिक भूगोल, किरात समुदायको मौलिक संस्कृति तथा ऐतिहासिक र धार्मिक स्थलले पदयात्रीलाई आकर्षित गर्दै आएका छन्।

वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै पर्यटकको आगमन बढेसँगै स्थानीय होटल, घरबास, पर्यटन व्यवसाय र अन्य आर्थिक गतिविधिले समेत गति लिने विश्वास गरिएको छ।

पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग बढाउँदै पदमार्गलाई व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रयासस्वरूप वेबसाइट सञ्चालनमा ल्याइएको हो।

साताकाे चर्चित
सम्बन्धित