काठमाडौं ।
काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बिहान करिब ९ बजे बारमा आगो लागेको हो। आगलागी नियन्त्रणका लागि दुईवटा दमकल घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।
आगलागी हुँदा बारभित्र कोही पनि नरहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। बारका सञ्चालकलाई सम्पर्क गरी घटनास्थलमा बोलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ।
आगलागीबाट भएको क्षतिको विवरण र आगलागीको कारणबारे भने अनुसन्धान तथा नियन्त्रणको काम सम्पन्न भएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।