सीआईबी खटाउने तयारी, भूपेन्द्र बडुवाल हत्या प्रकरणको अनुसन्धानमा
सीआईबी खटाउने तयारी, भूपेन्द्र बडुवाल हत्या प्रकरणको अनुसन्धानमा
    • Bell Sanchar

    • २८ कार्तिक २०७८, आईतवार

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाउने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालयको आग्रहमा सीआईबीको टोली खटाउने तयारी गरिएको हो ।

गएको मंगलबार राति २३ वर्षीय भूपेन्द्रको टीकापुरमा हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा लम्कीचुहा नगरपालिका–३, चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धीरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रविन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरेको छ । अरू तीनजना फरार छन् ।

होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीको दाबी छ । उनी फरार छन् ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “यो संगठित अपराध हो । यसका प्रमाण जुटाउन र पुष्टि गर्न सीआईबीको आवश्यकता महसुस गरेपछि सीआईबीले सघाउनेछ ।”

गम्भीर प्रकारका अनुसन्धानमा सीआईबीको टोली परिचालित हुँदै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित