छठ पर्वको रौनकले मिथिला क्षेत्र उल्लासमय, तयारीमा जुटे स्थानीयवासी
छठ पर्वको रौनकले मिथिला क्षेत्र उल्लासमय, तयारीमा जुटे स्थानीयवासी
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

महोत्तरी ।

दीपावली सकिएसँगै मिथिला क्षेत्रमा छठ पर्वको चहलपहल बढेको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने चारदिने छठ पर्वलाई लक्षित गर्दै महोत्तरीसहित मिथिलाका गाउँबस्ती र बजारमा तयारी तीव्र पारिएको छ।

आस्था, श्रद्धा र पवित्रताको प्रतीक मानिने छठ पर्व नजिकिएसँगै मिथिलाका घरघरमा छठका भक्ति गीत गुञ्जिन थालेका छन्। सूर्यदेव र षष्ठीदेवी अर्थात् छठीमाताको महिमा वर्णन गरिएका गीतले गाउँबस्तीको वातावरण भक्तिमय बनेको छ।

पर्वलाई व्यवस्थित र उल्लासमय बनाउन स्थानीयवासी नदी, पोखरी तथा अन्य जलाशयका किनारमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन्। विशेषगरी युवाहरू घाटको व्यवस्थापन, सजावट र सरसफाइमा सक्रिय देखिएका छन्। घरका भित्ता लिपपोत गर्ने, रङरोगन गर्ने तथा सडक र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गर्ने काम पनि भइरहेको छ। आर्थिक अवस्था जस्तोसुकै भए पनि स्थानीयवासी आफ्नो सामर्थ्यअनुसार पर्व मनाउने तयारीमा छन्।

छठ नजिकिएसँगै स्थानीयको दैनिकीसमेत पर्वमय बनेको छ। घरायसी कामदेखि आफन्त तथा छिमेकीसँगको भेटघाटसम्म छठको तयारीमै केन्द्रित हुन थालेको बर्दिबास नगरपालिका–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए।

यता, छठका लागि आवश्यक सामग्री खरिद गर्नेको भीड बजारमा बढ्न थालेको छ। केराका घरी, उखु, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका पूजासामग्रीको माग बढेको छ। स्थानीय किसानले समेत पर्वलाई लक्षित गरी यस्ता सामग्री बिक्रीका लागि बजारमा ल्याउने तयारी गरेका छन्। शनिबार बजारमा पूजासामग्रीको कारोबार थप बढ्ने अपेक्षा गरिएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी दिए।

छठको समयमा बाँसबाट तयार गरिने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाजस्ता परम्परागत सामग्रीको बिक्री पनि बढेको छ। त्यस्तै, दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीलगायत माटाका भाँडाकुँडाको मागसमेत बढेको छ। छठमा नयाँ भाँडामा पूजाका सामग्री राख्ने परम्परा रहेकाले बाँस र माटोबाट बनेका सामग्रीको व्यापारले गति लिएको हो।

पर्वका लागि घरघरमा प्रसाद बनाउने तयारी पनि सुरु भएको छ। छठमा विशेष रूपमा चढाइने ठकुवा र भुसुवा बनाउन गृहिणीहरू व्यस्त छन्। प्रसादको शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले कतिपय परिवारमा अझै पनि ढिकी र जाँतोमै चामल तथा गहुँको पिठो तयार गर्ने परम्परा कायम छ। परिवारका सदस्य मिलेर प्रसाद बनाउने चलनले पर्वमा पारिवारिक सहभागिता र आत्मीयता थप्ने गरेको छ। भङ्गाहा नगरपालिका–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहका अनुसार छठ पर्वमा सबैभन्दा महत्त्वपूर्ण कुरा निष्ठा र पवित्रता हो।

मिथिला क्षेत्रमा छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाउने परम्परा छ। पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने पर्वको दोस्रो दिन व्रतालुले ‘खरना’ गर्छन्। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् सम्पन्न हुन्छ।

धार्मिक अनुष्ठानसँगै सामाजिक सद्भाव र एकताको सन्देश दिने पर्वका रूपमा पनि छठको विशेष महत्त्व छ। यस अवसरमा पुराना मनमुटाव बिर्सेर विभिन्न जातजाति र समुदायका मानिस एउटै छठघाटमा भेला भई सूर्यदेवको आराधना गर्छन्। जातीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर सबैले समान रूपमा पर्व मनाउने परम्पराले सामाजिक एकतालाई बलियो बनाउँदै आएको छ।

सूर्यदेव र षष्ठीदेवीको उपासनाबाट सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वासका साथ मनाइने छठले मिथिला क्षेत्रलाई यतिबेला श्रद्धा, भक्ति र उत्साहको वातावरणमा बाँधेको छ।

साताकाे चर्चित
सम्बन्धित