पाटनमा आजदेखि ऐतिहासिक कार्तिक नाच सुरु, १२ दिनसम्म विभिन्न धार्मिक प्रस्तुति देखाइने
पाटनमा आजदेखि ऐतिहासिक कार्तिक नाच सुरु, १२ दिनसम्म विभिन्न धार्मिक प्रस्तुति देखाइने
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

ललितपुर ।

मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको ऐतिहासिक पहिचान बोकेको कार्तिक नाच आजदेखि ललितपुरको पाटनमा सुरु हुँदैछ। करिब ३८६ वर्ष पुरानो यो सांस्कृतिक परम्परा यस वर्ष १२ दिनसम्म सञ्चालन हुने भएको छ।

कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार कात्तिक २७ गतेदेखि मङ्सिर ८ गतेसम्म हरेक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा नाच प्रदर्शन गरिनेछ।

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा धार्मिक–सांस्कृतिक उद्देश्यले यस नाचको सुरुआत गराएका थिए। नेपाल भाषामा ‘कात्ति प्याखं’ नामले परिचित यो नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला, धार्मिक कथा र लोकनाट्य प्रस्तुत गरिन्छ।

यस वर्षको कार्यक्रममा भक्त सुरदास प्याखं, माधवानर लीला, बायः प्याखं, बाथः प्याखं, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीलालगायत प्रस्तुति समावेश गरिएका छन्। समितिका उपाध्यक्ष प्रकाशराज शर्माले परम्परागत नाट्य शैली र धार्मिक आख्यानलाई समेटेर कार्यक्रम तयार गरिएको जानकारी दिए।

कार्तिक नाचको प्रदर्शन अवधि विभिन्न समयमा परिवर्तन हुँदै आएको छ। विसं २०३८ देखि २०६० सम्म आठ दिन सञ्चालन भएको नाच विसं २०७० मा १० दिन र २०७१ देखि २०७६ सम्म १२ दिन प्रदर्शन गरिएको थियो। कोरोना महामारीका कारण विसं २०७७ मा भने यसको प्रदर्शन दुई दिनमा सीमित भएको थियो।

ऐतिहासिक महत्त्व बोकेको यस नाचलाई निरन्तरता दिन आर्थिक स्रोतको व्यवस्थापन, कलाकारको व्यावसायिक विकास र नयाँ पुस्तामा परम्परागत सीप हस्तान्तरण मुख्य चुनौती बनेका छन्। यसको संरक्षणका लागि ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो। पछि उक्त कोषमा थप १० लाख रुपैयाँसमेत थपिएको थियो। यस वर्ष नाच सञ्चालनका लागि महानगरपालिका–१६ ले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

दीर्घकालीन संरक्षण र व्यवस्थापनलाई बलियो बनाउन समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ। कार्तिक नाचलाई यसको ऐतिहासिक स्वरूपअनुसार पुनः २७ दिनसम्म सञ्चालन गर्न सक्ने अवस्था सिर्जना गर्ने योजना रहेको प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताए।

यस ऐतिहासिक सांस्कृतिक परम्पराको संरक्षणमा सर्वसाधारण, संस्कृतिप्रेमी तथा स्वदेशी र विदेशी पर्यटकको सहभागिता बढाउन समितिले आग्रह गरेको छ।

ललितपुर महानगरपालिका–१६ का अध्यक्ष निर्मलरत्न शाक्यले कार्तिक नाचलाई नेपालको गौरवपूर्ण सांस्कृतिक सम्पदाका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास भइरहेको बताए। उनका अनुसार नाचलाई विश्वको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गराउने तयारीसमेत भइरहेको छ। आगामी वर्षदेखि यसको प्रदर्शन अवधि पुनः २७ दिन पुर्‍याउने लक्ष्य राखिएको छ।

मल्लकालीन सभ्यता, धार्मिक आस्था र नेवारी नाट्य संस्कृतिको अनुपम संगम मानिने कार्तिक नाचले पाटनको ऐतिहासिक पहिचानलाई जीवन्त राख्दै आएको छ।

साताकाे चर्चित
सम्बन्धित