जनकपुर ।
धनुषाको विदेह नगरपालिका–८ बफै गाउँस्थित चन्द्रोदय पुस्तकालयले ग्रामीण समुदायमा पठन संस्कृतिको विकास र शैक्षिक चेतना विस्तारमा निरन्तर योगदान दिँदै आएको छ। स्थापना भएको २७ वर्ष पूरा गरेको पुस्तकालयले गाउँघरमा अध्ययन गर्ने बानीको विकास गर्दै शिक्षाको पहुँच विस्तारमा भूमिका निर्वाह गरिरहेको छ।
पुस्तकालयको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले ग्रामीण क्षेत्रमा शैक्षिक चेतना अभिवृद्धि गर्न पुस्तकालयको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले पुस्तकालयले ज्ञान आर्जन गर्ने वातावरण निर्माण गर्नुका साथै समुदायको बौद्धिक विकासमा समेत सहयोग पुर्याएको धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक सूर्यनारायण मण्डलले बदलिँदो समय र प्रविधिको विकाससँगै पुस्तकालयलाई पनि डिजिटल प्रविधिमा रूपान्तरण गर्न आवश्यक रहेको बताए। पुस्तकालयका सेवा र स्रोतसाधनलाई प्रविधिमैत्री बनाउन सके नयाँ पुस्तालाई अध्ययनप्रति आकर्षित गर्न सकिने उनको भनाइ थियो।
पुस्तकालयका संस्थापक अध्यक्ष ठकुप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घका वरिष्ठ उपाध्यक्ष जगदीश साह र स्थानीय शिक्षक ब्रह्मदेव साहले पछिल्लो समय युवापुस्तामा पुस्तक पढ्ने रुचि घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
उनीहरूले युवामा अध्ययन गर्ने बानीको विकास गर्न पुस्तकालयको पहुँच विस्तार, पठन संस्कृतिको प्रवर्द्धन र पुस्तकप्रतिको आकर्षण बढाउने कार्यक्रम आवश्यक रहेकोमा जोड दिए।
२७ वर्षदेखि ग्रामीण क्षेत्रमा ज्ञान, शिक्षा र चेतनाको अभियान सञ्चालन गर्दै आएको चन्द्रोदय पुस्तकालयको वार्षिकोत्सवले स्थानीय स्तरमा पुस्तकालयको महत्त्व र यसको दीर्घकालीन संरक्षणको आवश्यकतालाई पुनः उजागर गरेको छ।