नवलपुर ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित नारायणी नदीकिनारमा लागुऔषध सेवन गर्नेको गतिविधि बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। पर्यटकीय सम्भावना बोकेको नारायणी हाइट पछिल्लो समय लागुऔषध सेवन गर्नेहरूको जमघटस्थल बन्दै गएको स्थानीयको गुनासो छ।
नारायणी नदीको मनोरम दृश्यावलोकन गर्न आउने पर्यटकको आकर्षण बढिरहेका बेला नदीकिनारमा बाहिरबाट आउने केही व्यक्तिले लागुऔषध सेवन गर्ने गरेको स्थानीय भरत श्रेष्ठले बताए। उनका अनुसार केही व्यक्तिले नदीकिनारमा सवारीसाधन पार्किङ गरी नजिकैका खरका झाडीमा गएर गाँजालगायतका लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने गरेका छन्।
नदीकिनारमा बढ्दो यस्तो गतिविधिका कारण बालबालिकासहित घुम्न जाने स्थानीयसमेत असहज महसुस गर्न थालेका छन्। स्थानीय कविता पौडेलले बालबालिकालाई लिएर नदीकिनारमा जानसमेत डर लाग्ने अवस्था आएको गुनासो गरिन्।
लागुऔषध सेवनको समस्यासँगै नदीकिनारमा फोहोर फाल्ने प्रवृत्तिले पनि वातावरण प्रदूषित बन्दै गएको छ। बाहिरबाट आउने केही व्यक्तिले प्रयोग गरेका प्लास्टिक तथा खानेकुराका प्याकेट जथाभावी फाल्दा नदीकिनारको प्राकृतिक सौन्दर्यमा असर परेको स्थानीयको भनाइ छ।
जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सदस्य राजु अर्यालले विशेषगरी किशोर तथा युवालाई लागुऔषधको कुलतबाट टाढा रहन आग्रह गरिए पनि अपेक्षित सुधार नदेखिएकोप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार कतिपय मानिस होटल तथा व्यवस्थित स्थानभन्दा खुला नदीकिनारमै बसेर समय बिताउने गरेका छन्।
स्थानीय दीपक विकले नारायणी नदीकिनारलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने बताए। उनका अनुसार नदीकिनारमा मादक तथा लागुपदार्थ सेवन नियन्त्रण गर्ने, जथाभावी फोहोर फाल्न रोक लगाउने र फोहोर सङ्कलनका लागि उचित व्यवस्था गर्ने काम तत्काल आवश्यक छ।
नदीकिनारमा सरसफाइ, सुरक्षा र व्यवस्थापनलाई प्राथमिकता दिन सके नारायणी हाइटलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको संरक्षणसँगै लागुऔषध सेवन र फोहोर व्यवस्थापनको समस्या समाधान गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग छ।