काठमाडौं ।
राजधानी काठमाडौंमा छठ पर्व मनाउनेको सङ्ख्या वर्षेनी बढ्दै गएको छ। सूर्यदेवप्रति आस्था र श्रद्धा प्रकट गर्दै मनाइने यस पर्वका लागि काठमाडौंका विभिन्न नदी तथा पोखरी किनारमा छठघाट निर्माण र सजावटको काम तीव्र पारिएको छ। व्रतालुहरू पूजाका लागि उपयुक्त स्थान खोज्न व्यस्त देखिएका छन्।
छठ पूजा समिति गुह्येश्वरीका अनुसार राजधानीका करिब डेढ दर्जन स्थानमा विशेष रूपमा छठ पर्व मनाउने गरिन्छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वप्रति पछिल्लो समय काठमाडौंवासीको आकर्षणसमेत बढ्दै गएको छ।
गौरीघाटदेखि गुह्येश्वरीसम्मको वाग्मती नदी किनारमा यस वर्ष ६०० वटा छठघाट निर्माण गरिएको समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए। गत वर्ष उक्त क्षेत्रमा ५५० वटा घाट बनाइएको थियो। यस वर्ष थपिएका घाटसमेत भाइटीकाअघि नै बुक भइसकेको उनले बताए।
उनका अनुसार छठघाटको माग अझै आइरहेको छ। घाट खोज्दै दैनिक फोनमार्फत तथा प्रत्यक्ष रूपमा कार्यालयमा पुग्नेहरूको सङ्ख्या बढिरहेको छ। यस वर्ष गुह्येश्वरी मन्दिर क्षेत्रभन्दा अगाडि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय आसपाससम्म घाट निर्माण विस्तार गरिएको छ।
राजधानीमा छठ मनाउनेको सङ्ख्या बढेसँगै नदी किनारमा घाट निर्माण गर्ने क्षेत्र पनि विस्तार हुँदै गएको छ। गत वर्षको तुलनामा यस पटक करिब ५० वटा घाट थपिएका छन्। दुई दशकअघिसम्म मुख्यतः मधेसी समुदायमा सीमित रहेको छठ पर्वमा अहिले विभिन्न समुदायको सहभागिता बढेको छ। समितिको अभिलेखअनुसार छठ मनाउनेमध्ये करिब २१ प्रतिशत मधेसी समुदायबाहिरका व्यक्ति रहेका छन्।
आजदेखि छठको व्रत विधि सुरु
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन कात्तिक शुक्ल चतुर्थीमा व्रतालुले स्नान गरी शुद्ध भोजन गर्ने परम्परा छ। यस विधिलाई ‘अरबा’ वा ‘अरबाइन’ भनिन्छ। यस दिनदेखि पर्व सम्पन्न नभएसम्म माछा, मासु, लसुन, कोदो, फापर र मुसुरोजस्ता खाद्यपदार्थ त्याग्ने धार्मिक चलन छ।
छठमा विशेषगरी महिलाहरूले परिवारको सुख, समृद्धि र मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ कठोर व्रत बस्ने गर्छन्। तराईको मिथिला संस्कृतिसँग गहिरो सम्बन्ध रहेको यो पर्व विसं २०४६ पछि काठमाडौंसहित पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको हो।
काठमाडौंमा थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीलगायत स्थानमा छठ विशेष रूपमा मनाउन थालिएको छ। भूकम्पपछि पुनर्निर्माणका क्रममा रानीपोखरीमा केही समय छठ मनाउने परम्परा रोकिएको थियो। यसअघि नै वाग्मती र विष्णुमती नदी किनारमा पनि छठ मनाउने चलन विस्तार भइसकेको थियो।
पर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीमा व्रतालुले निर्जल उपवास बस्ने परम्परा छ। साँझ घरमै खीर पकाएर चन्द्रमालाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गरिन्छ। यस विधिलाई ‘खरना’ भनिन्छ। काठमाडौंमा लामो समयदेखि छठ मनाउँदै आएका रणेन्द्र कुशवाहाका अनुसार खरनापछि व्रतालुको कठिन उपवास सुरु हुन्छ।
षष्ठीका दिन ठकुवा, फलफूल, मिठाई र रोटीलगायत प्रसाद तयार गरिन्छ। बाँसका टोकरीमा पूजा सामग्री सजाएर साँझ नदी वा पोखरी किनारमा लगिन्छ। अस्ताउँदो सूर्यलाई जल अर्पण गर्दै विशेष पूजा गरिन्छ। यस क्रममा व्रतालुले सूर्यदेव र छठी माताको आराधना गर्दै परिवारको कल्याणको कामना गर्छन्।
पर्वको अन्तिम दिन सप्तमीको बिहानैदेखि व्रतालुहरू घाटमा पुगेर उदाउँदो सूर्यको प्रतीक्षा गर्छन्। सूर्योदयपछि गाईको दूध, फूल र जल चढाउँदै सूर्यदेवलाई अर्घ्य दिइन्छ। बिहान गरिने यस पूजालाई ‘भिन्सरघाट’ भनिन्छ। सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ।
व्रतालुले कम्मरसम्म पानीमा उभिएर सूर्यको दर्शन तथा पूजा गर्ने परम्परा रहेको रीता यादव बताउँछिन्। उनका अनुसार सूर्य र जललाई सम्पूर्ण जीवजगत्को जीवन तथा संरक्षणको आधार मान्दै छठमा विशेष आराधना गर्ने गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार कार्तिक शुक्ल पक्षमा सूर्यको उपासना गर्दा मनोकाङ्क्षा पूरा हुने र इच्छित फल प्राप्त हुने धार्मिक मान्यता शास्त्रमा उल्लेख छ।
सन्तान प्राप्तिको कामनासहित विभिन्न उद्देश्यले व्रत
छठ पर्वमा सन्तान प्राप्ति, परिवारको सुख, पति–पत्नीको दीर्घायु तथा स्वास्थ्य लाभको कामना गर्दै व्रत बस्ने परम्परा छ। विवाहित महिला तथा पुरुषले दाम्पत्य जीवनको सुख र दीर्घायुको कामना गर्छन् भने अविवाहितले योग्य जीवनसाथी प्राप्तिको कामना गर्ने चलन छ।
छठ पूजा समिति गुह्येश्वरीका उपाध्यक्ष राजकुमार पोद्दारका अनुसार सन्तान प्राप्तिको कामनासहित व्रत बस्नेहरूको सङ्ख्या बढिरहेको छ। छालासम्बन्धी रोगबाट मुक्ति पाउने विश्वासका साथ व्रत गर्नेहरू पनि उल्लेख्य छन्।
छठ पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सहिष्णुताको उदाहरणसमेत बन्दै गएको छ। यस पर्वमा हिन्दू समुदायका अतिरिक्त मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन्। काठमाडौंका कमलपोखरी र गुह्येश्वरीलगायत स्थानमा विभिन्न धर्मका मानिस सूर्यदेवको पूजा तथा आराधनाका लागि पुग्ने गरेका छन्।
छठको पौराणिक तथा धार्मिक मान्यता
छठ पर्वको सुरुआतबारे विभिन्न धार्मिक तथा पौराणिक मान्यता प्रचलित छन्। एक मान्यताअनुसार छठी माताले सूर्यदेवलाई प्रसन्न पार्न यस पर्वको सुरुआत गरेकी थिइन्।
महाभारतकालमा पाण्डवहरू वनवास र अज्ञातवासमा रहँदा द्रौपदीसहित सूर्यदेवको पूजा तथा आराधना गरेको कथासँग पनि छठ पर्वलाई जोड्ने गरिन्छ। सूर्यदेवको आराधनाका प्रभावले पाण्डवहरूको अज्ञातवास सफल भएको धार्मिक विश्वास छ।
त्यस्तै, सूर्य पुराणमा उल्लेख भएअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको अर्को धार्मिक मान्यता रहेको छ। उक्त व्रतको प्रभावबाट उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको विश्वासका आधारमा छठ मनाउने परम्परा सुरु भएको जनविश्वास छ।
छठको तयारीसँगै नदी तथा पोखरीको सरसफाइ
छठ पर्वलाई व्यवस्थित बनाउन काठमाडौंका विभिन्न स्थानमा घाट निर्माण, सरसफाइ र सजावटका काम भइरहेका छन्। गुह्येश्वरी क्षेत्रमा छठघाट तयार पार्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदी किनारको सरसफाइ, डोजरमार्फत बालुवा तथा माटो सम्याउने कामसमेत सम्पन्न गरेको छ।
यस्तै, कमलपोखरीमा पनि छठघाट निर्माण भइरहेको छ। कमलपोखरी छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहका अनुसार पर्वका लागि आवश्यक व्यवस्थापनको काम अघि बढाइएको छ।
यस वर्ष कात्तिक २९ गते साँझ राष्ट्रपति रामचन्द्र पौडेलले गुह्येश्वरी र कमलपोखरी क्षेत्रको छठ पूजा अवलोकन गर्ने तथा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ। कात्तिक २९ गते साँझ अस्ताउँदो सूर्य र कात्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सम्पन्न हुनेछ।
राजधानीमा छठ मनाउनेको सङ्ख्या र सहभागिता बढ्दै जाँदा नदी तथा पोखरी किनारको व्यवस्थापन, सरसफाइ र धार्मिक पर्यटकीय आकर्षण विस्तारमा समेत यस पर्वले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।