काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विश्वव्यापी डिजिटल असमानता कम गर्दै प्रविधिको पहुँच विस्तार गर्न नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा प्रभावकारी रूपमा प्रस्तुत गरेको बताएका छन्।
कतारको दोहामा आयोजित अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को महासम्मेलन ‘आईटीयू पीपी–२६’ मा सहभागी भएर स्वदेश फर्किएका मन्त्री तिमिल्सिनाले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सम्मेलनमा नेपालको सहभागिता उपलब्धिमूलक रहेको जानकारी दिए।
उनका अनुसार सम्मेलनमा विकासशील तथा अल्पविकसित मुलुकमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने, उदीयमान प्रविधिको उपयोग बढाउने र डिजिटल विभाजन कम गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
सम्मेलनका क्रममा सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति गरेका विभिन्न मुलुकसँग डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्य र साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको उनले बताए। प्रविधिको पहुँच विस्तार हुनुपर्नेमा कतिपय स्थानमा विभिन्न कारणले अझै सीमितता रहेको उल्लेख गर्दै उनले यसलाई समाधान गर्न द्विपक्षीय संवाद गरिएको जानकारी दिए।
मन्त्री तिमिल्सिनाका अनुसार मलेसिया, इस्टोनिया, कतार, चीन, भारत र रुसलगायत देशका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरूसँग भेटवार्ता भएको थियो। ती भेटमा नेपालको आवश्यकता र प्राथमिकताअनुसार सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा सहयोग र साझेदारीका सम्भावनाबारे छलफल गरिएको थियो।
सम्मेलनमा प्राकृतिक विपद्का समयमा सञ्चार प्रणालीलाई निरन्तर सञ्चालनमा राख्ने विषयले पनि महत्त्व पाएको थियो। बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन आवश्यक नीतिगत तथा प्राविधिक तयारी गर्नुपर्नेमा नेपालले जोड दिएको मन्त्री तिमिल्सिनाले बताए।
उनले विकासशील तथा अल्पविकसित देशलाई डिजिटल रूपान्तरणको दौडमा पछाडि पर्न नदिन प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको धारणा राखेका थिए।
विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी र आधुनिक प्रविधिमा समान पहुँच नहुँदा कमजोर अर्थतन्त्र भएका मुलुक थप पछाडि पर्न सक्ने जोखिम रहेको उनको भनाइ थियो।
विशेषगरी कृत्रिम बौद्धिकता (एआई) र फाइभजीजस्ता नयाँ प्रविधिमा पहुँचको असमानताले डिजिटल विभाजनलाई थप गहिरो बनाउन सक्ने भन्दै उनले यसको लाभ सबै देश र समुदायसम्म पुर्याउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) दूरसञ्चार तथा सूचना प्रविधिसम्बन्धी विश्वव्यापी नीति, मापदण्ड र समन्वयमा काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय हो। यस संस्थामा विश्वका १९४ देश सदस्य रहेका छन्।