दीपेन्द्रको कप्तानी इनिङ्समा सुदूरपश्चिमको शानदार जित, काठमान्डु ७ रनले पराजित
दीपेन्द्रको कप्तानी इनिङ्समा सुदूरपश्चिमको शानदार जित, काठमान्डु ७ रनले पराजित
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई सात रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १२६ रनको लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १२५ रन जोडेको थियो ।

सुरुवाती ब्याटिङमा निकै कमजोर देखिएको सुदूरपश्चिमले तीन ओभर पूरा नहुँदै आठ रनमा चार विकेट गुमाएको थियो । स्कट कुगेलेइन ६ रनमा आउट हुँदा ब्रान्डन म्याकमुलेन, ईशान पाण्डे र विनोद भण्डारीले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

कठिन अवस्थामा पुगेको टोलीलाई कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हाले । यी दुईले पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढाए । आरिफ १६ रन बनाएर रनआउट भए ।

दीपेन्द्रले ५५ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ६० रन बनाए । त्यस्तै, थारिन्दु रत्नायकेले २३ बलमा तीन चौकासहित अविजित २६ रन जोडे । दीपेन्द्र र रत्नायकेबीच छैटौँ विकेटका लागि ५४ रनको साझेदारी भएको थियो । फाबियन एलन दुई रनमा अविजित रहे ।

१२६ रनको लक्ष्य पछ्याएको काठमान्डुको ब्याटिङ सुरुदेखि नै दबाबमा रह्यो । छैटौँ नम्बरमा आएका रासिद खानले ३१ बलमा पाँच चौकासहित ३५ रन बनाए भने दुसान हेमन्थाले १८ बलमा २१ रनको योगदान दिए ।

ओपनर साम हेजलेटले ११ र सन्तोष यादवले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । काठमान्डुले अतिरिक्तबाट २० रन प्राप्त गरेको थियो ।

सुदूरपश्चिमका बलरमध्ये अनिल खरेलले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले समान एक विकेट हात पारे ।

काठमान्डुका बलर जहाँदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिएका थिए ।

लिग चरणको अन्तिम खेल जितेसँगै सुदूरपश्चिम सात खेलबाट १० अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । टोलीले प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ ।

काठमान्डु भने आठ अंकसहित तेस्रो स्थानमा छ । उसले लिग चरणको अन्तिम खेल पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । साविक विजेता लुम्बिनी लायन्सले पनि यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । अब प्लेअफ पुग्ने बाँकी दुई टोलीको टुंगो लाग्न बाँकी छ ।

यस खेलमा अर्धशतक बनाएसँगै दीपेन्द्र जारी प्रतियोगितामा दोस्रो पटक ५० रनको आँकडा पार गर्न सफल भएका छन् । यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए ।

साताकाे चर्चित
सम्बन्धित